भरतपुर अस्पतालमा १७५ बेडको कोरोना आइसोलेसन

चितवन । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि चितवनको भरतपुर अस्पतालले आइसोलेसनको क्षमता विस्तार गरेको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि आइतबारदेखि सञ्चालन हुने गरि एक सय शय्या थप गरिएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालको फेसबुक पेज मार्फत् अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले हाल रहेको ७५ बेडको क्षमतालाई वृद्धि गरिएको बताए । अब भरतपुर अस्पतालमा कोरोना संक्रमितक उपचारका लागि १७५ शय्या हुनेछ । हाल अस्पतालमा आइसीयूसहितको ७५ वेडको कोभिड आइसोलेसन रहेको छ ।
आइतबारदेखि नै सञ्चालन हुने गरि अब आइसीयूमा १६ बेड रहने अस्पतालका अध्यक्ष डा. अधिकारीले बताए । सरकारले कोरोनाको लक्षण नदेखिएका संक्रमितहरुलाई स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने बताइसकेको छ । अस्पतालले आफ्नै परिसरमा कर्मचारीका लागि ४० बेडको क्वारेन्टाइन समेत बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
कोरोना प्रयोगशाला प्रती गुनासो आएकाले छिट्टै सुधार गरिने समेत अध्यक्ष अधिकारीले बताए । प्रयोगशालामा कोरोना परिक्षणको नमुना अत्यधिक हुने भएकाले चितवन मेडिकल कलेजसँग समन्वय गरेर परिक्षण सुरु गरिसकेको समेत उनले जानकारी दिए ।









