काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न पौडेलको माग

काठमाडौं । काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणमा सरकारले रेलमार्गको निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्र योग्य बनाएर हचुवाका भरमा दिएर नीतिगत तथा संस्थागत भ्रष्टाचार गरेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले बताएका छन् ।

आज प्रेस विज्ञप्ति नै जारी गरी सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताउँदै रेलमार्ग निर्माणको ठेक्कापट्टा रोक्न समेत भनेका छन् । साथै बरिष्ठ नेताले संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत छानविन गर्न भनेका छन् ।

‘परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिष्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत छ ।’ पौडेलले भनेका छन् ।

उनले राष्ट्रिय ढुकुटीबाट रेल निर्माणका नाममा ३५ अर्ब रुपैंया हचुवाका भरमा खर्च गर्नु अनुचित रहेको पनि बताएका छन् । पौडेलका अनुसार रेलमार्गमा पर्ने बजार व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्गको निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत रहेको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्ड १ सय ६ किलोमिटर लामो छ । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *