निषेधाज्ञा सकिँदै गर्दा आज सिडिओहरुको भर्चुअल बैठकः फेरि थपिएला या खुकुलो होला ?

काठमाडाैं । उपत्यकामा दाेस्राे पटक थपिएकाे निषेधाज्ञा भाेलि (बुधबार) राति १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा सकिँदै गर्दा जनजीवन सहज बनाउन खुकुलाे गर्ने या अझै कडाइ गर्ने भन्ने विषयमा सम्बन्धित पक्षकाे छलफल जारी छ ।
नागरिककाे दैनिकी कष्टकर बन्दै गएपछि सरकारले पनि उपत्यकाका जिल्ला प्रशासन प्रमुखहरूलाई लकडाउन खुकुलाे बनाउन निर्देशन दिइसकेकाे छ । साेही विषयमा निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्न लागिएकाे काठमाडाैंका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।
‘बैठक सुरू हुँदैछ । विज्ञहरूले माेडालिटी परिवर्तन गर्न सुझाव दिनुभएकाे छ । साेही विषयमा हामी छलफल गर्दैछाैँ । तीन जिल्लाकाे एउटै धारणा बनाएर भाेलि गृह मन्त्रालयसँग परामर्श गर्छाैँ, त्यसपछि निषेधाज्ञाबारे आधिकारिक निर्णय आउँछ’, प्रजिअ दाहालले मकालु खबरसँग भने । आम सर्वसाधारणको हितलाई ध्यानमा राखेर कोभिडलाई पररास्त गर्ने गरी अघि बढिने पनि उनले बताए ।
उपत्यकामा काेराेना संक्रमण बढेपछि पहिलाे पटक भदाै ३ गते एक सातासम्मका लागि निषेधाज्ञा गरिएकाे थियाे । साे अवधि सकिनै लाग्दा पुनः एक साता थप गरी भदाै १७ गतेसम्म निषेधाज्ञा थप गरिएकाे थियाे ।








