काठमाडौंका यी स्थानमा छन् १०० जनाभन्दा बढी संक्रमित

काठमाडौं । काठमाडौंमा आइतबार हालसम्मकै सबैभन्दा बढी कोभिड-१९ संक्रमित पहिचान भयो र एकैदिन ३७२ जना कोरोना संक्रमित थपिए ।

साउनदेखि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको काठमाडौंमा भदौयता हवात्तै बढेको छ । सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन् । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले । व्यापार व्यवसाय पनि चलाउन थालियो । मजदुरहरू काममा लागे ।

तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन, जुन संक्रमण फैलिनुको कारण बन्यो । अहिले निषेधाज्ञा जारी छ तर, संक्रमणदर भने हवात्तै बढेको छ । कोरोना संक्रमण काठमाडौंका सबैजसो वडामा देखिएको छ । तीमध्ये असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

यी हुन् १०० भन्दा बढी संक्रमित भएका ठाउँ
महानगरपालिका वडा नम्बर ३२ को कोटेश्वर वरपरको क्षेत्रमा सबैभन्दा बढी १९८ जना कोरोना संक्रमित छन् । काठमाडौं महानगरपालिकाको १४ भदौसम्मको तथ्यांक अनुसार त्यहाँ १९८ जना संक्रमित भेटिएका हुन् ।

कोटेश्वरपछि वडा नम्बर ३ को महाराजगञ्ज क्षेत्र वरपर १८० जना कोरोना संक्रमित छन् । ठूला सरकारी तथा नीजि कार्यालय, ब्यांक र वित्तिय संस्था भएका ठाउँमा एकैपटक धेरै जनामा संक्रमण देखिएको काठमाडौं महानगरका कोभिड फोकलपर्सन ज्ञानेन्द्रबहादुर ओलीले बताए ।

यस्तै वडा नम्बर २७ को महाबौद्ध तथा असन क्षेत्रमा १४० जना, वडा-१३ कालीमाटी क्षेत्रमा ११८ जना र वडा-१४ को कंलकी क्षेत्रमा ११७ जना छन् भने बागबजार क्षेत्रमा १०१ जना, बालाजुमा १६० जना र वडा-४ को धुम्बाराहि क्षेत्रमा १०० जना कोरोना संक्रमित रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यो निको भएका, कोरोना कारण मृत्यु भएका र सक्रिय संक्रमित सहितको कुल तथ्यांक हो ।

काठमाडौंका बढी जनघनत्व र चहलपहल हुने ठाउँमा धेरै कोरोनाका संक्रमित भेटिएका हुन् । शुरुशुरुमा तराईका जिल्ला र भारतबाट आएकाहरूमा मात्र कोरोना संक्रमण देखिएको थियो तर, अहिले भ्रमण नगरेका व्यक्तिमा पनि कोरोना देखिन थालेको छ । काठमाडौं महानगरको १४ भदौसम्मको तथ्यांक अनुसार कोरोनाका कारण महानगरमा १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *