संक्रमण निको भइसकेपछि स्वास्थ्यको ख्याल कसरी राख्ने ?

काठमाडौं । कोभिड संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिमा हुन सक्छ । तर, संक्रमणको जोखिम भने व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्छ । जस्तै, लगातार लामो समयदेखि मेडिकेसन लिइरहेका व्यक्ति, क्यान्सर, सिओपिडी, क्रोनिक किड्नीसम्बन्धी रोग, टाइप २ डायबिटिज, मोटोपनाको समस्या भएका बिरामीको स्वास्थ्यमा भाइरसले बढी असर गर्छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या धेरै छ, अर्थात् संक्रमणका कारण हुने मृत्युदर निकै कम छ । निको भएका संक्रमितमा दीर्घकालीन असर देखिने विभिन्न तथ्यांकले बताएका छन् । तर, संक्रमण भएका सबै व्यक्तिमा भने दीर्घकालीन असर देखिँदैन ।

सामान्यतः तीन हप्ताभित्र संक्रमण निको हुन्छ । जटिल लक्षण देखिएका बिरामीमा भने निको हुने समय लम्बिन सक्छ । यस्तै, पहिलेदेखि अन्य स्वास्थ्य समस्या भएका र सिभियर संक्रमण भएका व्यक्तिको स्वास्थ्यमा दीर्घकालीन असर देखिन सक्छ । अध्ययनअनुसार केही व्यक्तिमा संक्रमण निको भइसकेपछि न्युरोलोजिकल र मानसिक समस्या देखिन सक्छन् । यसका लागि संक्रमण निको भइसकेका व्यक्तिले समेत स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ ।

सामान्य रूपमा लिने
लक्षण देखिएका बिरामीमा औषधिको प्रयोगबिना ७२ घन्टासम्म ज्वरो नआउनु, रुघाखोकी वा श्वासप्रश्वासको समस्या नदेखिनु संक्रमण निको हुने लक्षण हुन् । संक्रमित व्यक्तिमा भाइरसले पार्ने असरभन्दा यसले निम्त्याएको डरका कारण बढी समस्या भइरहेको पाइन्छ । तसर्थ, संक्रमण निको भइसकेपछि केही समय आराम गर्न आवश्यक हुन्छ । तुरुन्तै काममा फर्किन वा पुरानै जीवनशैलीमा फर्किंदा समायोजन हुन गाह्रो हुने भएकाले आफूलाई केही समय दिन चिकित्सकले सुझाब दिएका छन् ।

संक्रमणलाई बेवास्ता नगर्ने
सामान्यतः एकचोटि संक्रमण निको भइसकेपछि दोस्रोपटक पनि संक्रमण देखिने सम्भावना रहन्छ । कतिपयले संक्रमण निको भइसकेपछि केही हँुदैन भनेर बेवास्तासमेत गरिरहेको देखिन्छ, शरीरमा भाइरसविरुद्धको इम्युन नबनिसकेकाले ख्याल राख्नुपर्छ । संक्रमण निको भइसकेपछि पनि हात धुने, मास्क लगाउने र भौतिक दूरी कायम राख्ने गर्नुपर्छ ।

लक्षणहरूमा ध्यान दिने
संक्रमण निको भइसकेपछि पनि भाइरसका लक्षणहरू देखिन सक्छन् । जस्तै, ज्वरो आउने, खोकी वा श्वासप्रश्वासमा देखिनेजस्ता सामान्य लक्षणहरू देखिन सक्छन् । टाउको दुख्ने वा श्वासप्रश्वासमा जटिल समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । किनकि यस्ता लक्षण देखिएमा संक्रमण पूर्ण रूपमा निको नभएको हुन सक्छ ।

मानसिक स्वास्थ्यको ख्याल राख्ने
महामारीका कारण अधिकांश व्यक्तिले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । लामो समय आइसोलेसनमा बस्दा मानसिक रूपमा अस्वस्थ महसुस हुन सक्छ । मस्तिष्कलाई सक्रिय राख्न दैनिक एकदेखि दुई घन्टा दिमाग लगाउनुपर्ने खेलहरू खेल्न सकिन्छ । सिभियर संक्रमण देखिएका बिरामी शारीरिकसँगै मानसिक समस्या जस्तै, एन्जाइटी र पिटिएसडीजस्ता समस्या देखिएकाले संक्रमण निको भइसकेपछि पनि स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । यसका लागि परिवार, आफन्त र साथीभाइको सम्पर्कमा बस्ने, दिनहुँ कुराकानी गर्ने, मेडिटेसन गर्ने, पौष्टिक आहारमा ध्यान दिने, पर्याप्त निदाउनेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

नियमित व्यायाम गर्ने
जीवनशैली सन्तुलित नहुँदा आइसोलेसन बसाइपछि स्वास्थ्यमा अन्य प्रतिकूल समस्या पनि देखिन सक्छन्, यसका लागि नियमित शारीरिक व्यायाम गर्नुपर्छ । सुरुवातमा हलुका व्यायाम जस्तै, घरमै हिँडडुल गर्ने वा अन्य सामान्य व्यायाम गर्न सकिन्छ । पहिलो हप्ता कम्तीमा पाँच मिनेट दिनको पाँचपटक गर्नुपर्छ भने दोस्रो हप्ता कम्तीमा १० मिनेट दिनमा तीनपटक गर्न सकिन्छ । यस्तै, तेस्रो हप्ता १५ मिनेट दिनमा दुईचोटि गर्न सकिन्छ । अर्थात् व्यायाम गर्न शरीरलाई अप्ठ्यारो नहुने गरी सामान्य व्यायाम गर्नु उपयुक्त हुन्छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *