‘पीसीआर रिपोर्ट पर्खिने कि, ज्यान बचाउनतिर लाग्ने ?’

काठमाडौं । अहिले केही समस्या लिएर अस्पताल पुगेका बिरामीहरुको पीसीआर टेष्टपछिको रिपोर्टअनुसार मात्रै अगाडि बढ्ने प्रवृत्ति हरेक अस्पतालहरुमा छ । कारण, उही विश्वमा व्याप्त कोभिड १९ ।

तर, धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यस्तो देखिएन । सम्भावित क्यान्सर लिएर मोरङबाट प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारार्थ पुगेकी ७८ वर्षीय वृद्धको शल्यक्रियामा वीपी प्रतिष्ठानका चिकित्सकले पीसीआर परीक्षण पर्खन सकेनन् ।

आकस्मिक रुपमा आएको वृद्धको पीडादायी चित्कार सुन्न नसकेका उनीहरुले निःसंकोच उपचार पद्धतिलाई अगाडि बढाएर मानवताको उदाहरण दिए ।

आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गरेर वृद्धको शल्यक्रियामा जुटेको प्रतिष्ठानको यूरोलोजी यूनिटका डा. सुधीर सिंह, डा. आवाज काफ्ले र नर्सद्वय शारदा सिवा र कविता लिम्बुको टोलीले अन्ततः वृद्धको ज्यान बचाएरै गजब काम गर्यो ।

सायद पीसीआर रिपोर्टको पर्खाईमा चिकित्सकहरु बसेको भएको अवस्था अर्कै हुन्थ्यो कि ! तर, ती चिकित्सकहरुले कोरोना संक्रमणको डरलाई जितेर वृद्धको पहिले उपचार गरे अनि मात्रै पीसीआर लिए ।

त्यसो त कतिपय मनहरुमा ‘अस्पतालमा शल्यक्रिया हुनु सामान्य कुरा हो । अस्पतालमै नभएर कहाँ हुन्छ त ?’को भाव खड्किएला । तर, कुरा त्यसो होइन । यहाँ कुरा हिम्मत र लोककल्याणकारी कामको हो ।

यस्तो प्रकृतिका कामचिकित्सकीय दायराभित्र अटाउँदैनन् । यस्ता कामहरु विशुद्ध आँट, भरोसा र अदम्य साहसका कारण मात्र सम्भव हुन सक्छन् ।

संक्रमितको निःसंकोच शल्यक्रिया
“उहाँ पाको उमेरको भएकाले पनि अस्पताल आइसक्दा सम्म धेरै गाह्रो भएको थियो । उहाँको अवस्थालाई हेर्दा पीसीआर रिपोर्ट पर्खन सक्ने अवस्था थिएन । बरु साबधानीका सबै प्रक्रिया अपनाएर उहाँको शल्यक्रियामा जुट्यौं । उहाँको ज्यान बच्यो । यो नै ठूलो कुरा भयो ।” शल्यक्रियामा संलग्न डा. सुधीर सिंहले मकालु खबरसँगको कुराकानीमा भने, ‘हामीले पीसीआर रिपोर्ट नै पर्खेको भए उहाँलाई जे पनि हुन सक्थ्यो । कतिपय स्थितिमा जोखिमहरु पनि मोल्नैपर्ने हुन्छ ।’

वीपी प्रतिष्ठानमा आउनुभन्दा २ साताअघि मात्रैविराटनगरको एक अस्पतालमा शल्यक्रिया गराएका उनको त्यहाँ आइपुग्दासम्ममा पिसाब रोकिएर धेरै भइसकेको डा. सिंहको भनाई छ । उनले भनेका छन्, ‘उहाँले योभन्दा पहिले पनि विराटनगरमा शल्यक्रिया गराउनुभएको थियो । यहाँ आइपुग्दा पनि उहाँको पिसाब रोकिएको थियो । उहाँलाई एकदमै गाह्रो भएको थियो । त्यसैले हामीले आवश्यक सुरक्षा सामग्रीको प्रयोग गरी शल्यक्रिया गर्यौं ।’

बिरामीको अवस्था हेरेर चिकित्सकहरुले उचित कदम चाल्नुपर्ने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा बताउँछन् ।

उनी भन्छन्, ‘पीसीआर कुर्ने कि, बिरामी ज्यान बचाउन लाग्ने ? यो अन्यौललाई चिर्दै युरोलोजी युनिट प्रमुख डा.सुधीर सिंहको नेतृत्वमा डा.आवाज काफ्ले र नर्सहरु शारदा शिवा, कविता लिम्बुको टोलीले शल्यक्रिया सम्पन्न गरेका हुन् ।’

स्वास्थ्यकर्मी अहिलेको परिस्थितिसँग परिचित भएकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइएको खण्डमा प्रतिकूल अवस्थामासमेत बिरामीको ज्यान बचाउन सकिने वीपी प्रतिष्ठानमा चिकित्सकहरुले गरेको कार्यले पुष्टि गरेको छ । ‘स्वास्थ्यकर्मी टोलीले पूर्ण सर्तकता अपनाएर शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि मात्र बिरामीको पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्यकर्मी यो समयसँग थप परिचित हुन्छन् । यसर्थ, उनीहरुलाई सुरक्षाका सामग्रीहरु उपलब्ध भएको खण्डमा जोखिम मोल्न पछि पर्दैनन् ।’ डा. सापकोटा भन्छन् ।

बिरामीको रिपोर्ट पोजेटिभ, स्वास्थ्यकर्मीको नेगेटिभ
सम्भावित क्यान्सर लिएर अस्पताल पुगेका वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आउँदा उनैको शल्यक्रियामा जुटेका ४ स्वास्थ्यकर्मीहरुको भने नेगेटिभ आएको छ ।

शल्यक्रियाको नेतृत्व गरेका डा. सिंहले हामीलाई बताएअनुसार बिरामी घण्टौंदेखि पिसाब बन्द भएर छटपटाइरहेका थिए । ‘हामीले आवश्यक सुरक्षा सामग्रीसहित सर्तकता अपनाएर नै शल्यक्रिया गर्यौं । शल्यक्रियालगत्तै अपरेसन थिएटरलाई सेनिटाइज पनि गर्यौं । यसले अन्य बिरामीलाई दुःख पाउने अवस्था पनि भएन । हामी पनि क्वारेन्टिनमा बस्यौं ।’

पोजेभिट देखिएका वृद्ध हाल घर फर्केसकेकी छन् । उनको ज्यान बचाउन पाउँदा आफूहलाई खुशी लागेको प्रवक्ता डा. सापकोटा र उपचारमा संलग्न डा. सिंह बताउँछन् ।

‘हाम्रो रिपोर्ट नेगेटिभ आयो । आजदेखि काममा फर्कन्छौं । पूर्ण सतर्कता अपनाउनेछौं । सबैभन्दा ठूलो कुरा त उहाँलाई हामीले राम्रो बनाएर घर फर्कायौं । यही नै हो ।’ डा. सिंहले भन्छन् ।

परिस्थिति अनुसार चल्न सुझाव
डा. सिंहले सबै अस्पताल तथा समकालीन चिकित्सकहरुलाई परिस्थिति अनुसार सुरक्षाका उपाय अपनाएर कदम चाल्न सुझाव पनि दिएका छन् । अस्पतालमा जीवन मरणको दोसाँधमा आएको विरामीको पहिले पिसिआर गरौं अनी मात्र उपचार थालौं भन्ने अवस्था नरहने उनको भनाई छ ।

पीसीआर रिपोर्ट नकुरीनै ७८ वर्षीय वृद्धलाई बचाएका डा. सिंह भन्छन्, ‘कतिपय ठाउँ र अवस्था अनुसार चल्नुपर्ने हुन्छ । जसरी हामी शल्यक्रियामा जुट्यौं । यसरी नै अन्य स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरुमा कार्यरत मेरा समकालीन साथीहरुलाई पनि सानो सुझाव दिन्छु । हाम्रो लागि सबैभन्दा ठूलो काम भनेको विरामीको ज्यान बचाउनु नै हो । यसका लागि कुनै समय प्रोटोकल हेरेर बस्न सकिँदैन ।’कोभिड महामारीका कारण पीसीआर रिपोर्ट आएपछि मात्रै बिरामीको स्वास्थ्थ्यलाई हेर्ने अस्पतालहरुको प्रवृत्तितर्फ लक्षित गर्दै डा. सिंहको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *