काठमाडौंका यी ठाउँ हुन् संक्रमणका ‘हटस्पट’

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अधिकांश जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ तर, पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

शनिबार र आइतबार दुई दिनलाई जोड्ने हो भने दुई दिनमा मात्र नेपालमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार चाहिँ नेपालमा सर्वाधिक १२२१ जना कोरोनाभाइरस संक्रमित भेटिए । नेपालका दुई जिल्ला ‘काठमाडौं र पर्सा’ सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन् । संक्रमित र धेरै मृत्युको आधारमा पनि यी दुई जिल्ला सबैभन्दा बढी प्रभावित जिल्ला भएका हुन् ।

काठमाडौंमा मात्रै कोरोनाभाइरस संक्रमितको ३ हजार ९ सय ६० पुगेको छ भने अहिलेसम्म १ सय १० जनाले मात्र कोरोना जितेका छन् । अनि काठमाडौंमा कोभिड १९ का कारण १८ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंका यी ठाउँ हुन् संक्रमणका ‘हटस्पट’
उपत्यकामा निशेषाज्ञा लागू गरे पनि संक्रमितको संख्या झनै थपिँदैछ । कोरोना संक्रमण काठमाडौंका सबैजसो वडामा देखिएको छ । तीमध्ये असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

ती ठाउँहरूमा १४ भदौसम्ममा १०० भन्दा बढी कोरोना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)का निर्देशक डा. वासुदेव पाण्डे जानकारी दिए । उनका अनुसार यसबाहेक काठमाडौंका अन्य ठाउँहरूमा छिटफुट कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंका बढी जनघनत्व र चहलपहल हुने ठाउँमा धेरै कोरोनाका संक्रमित भेटिएका हुन् । ठूला सरकारी तथा नीजि कार्यालय, ब्यांक र वित्तिय संस्था भएका ठाउँमा एकैपटक धेरै जनामा संक्रमण देखिएको हो ।

नक्साल क्षेत्रमा बढी कोरोना संक्रमित देखिनुमा त्यहाँ प्रहरी कार्यालय भएको र कार्यालयका एकजना कर्मचारीबाट अन्य धेरै प्रहरीमा कोरोना सरेको देखिएको छ । यसैगरी उपचार गर्न जाने ठाउँ भएकाले ठूला अस्पताल भएका काठमाडौंको महाराजगञ्ज लगायतका क्षेत्रमा एकैपटक धेरै संक्रमित भेटिएका छन् ।

पछिल्ला केही दिनहरूमा काठमाडौंमा भेटिएका कोरोना संक्रमित बाहिरका जिल्लाबाट आएको नदेखिएको इडिसिडिका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिरका जिल्ला र भारतबाट आएकाहरूबाट उनीहरूमा कोरोना सरेको देखिएको छ । ‘बाहिर भ्रमण नगरेका व्यक्तिमा कोरोना देखिनु भनेको काठमाडौंमा दोस्रो चरणको संक्रमण शुरु भयो भनेर बुझ्न सकिन्छ,’ उनले भने ।

शुरुशुरुमा तराईका विभिन्न जिल्ला र भारतबाट आएकाहरूमा मात्र कोरोना संक्रमण देखिएको थियो तर, अहिले भ्रमण नगरेका व्यक्तिमा पनि कोरोना देखिन थालेको छ । यसले समुदायका एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *