इच्छाकामना गाउँपालिका कार्यालयमा तालाबन्दी

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिका कार्यालयमा ताला लगाएका हन् ।

गाउँसभाले समेत टुंगो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन ।

वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवद्र्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको थिएन ।

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा वडा कार्यालय फिस्लिङ नै स्थायी रूपमा सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमोतेमा वडाध्यक्ष अधिकारीले जनतालाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाए।

उनले विवाद समाधान नभई वडा कार्यालय अन्यन्त्र सारेकाले दवाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए। विवाद समाधान नभएसम्म ताला नखुल्ने उनको भनाइ छ। गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लङमा सारेको स्थानीयवासीको आरोप छ ।

वडाध्यक्ष अधिकारीले भने विवाद नटुंगिएसम्मका लागि मात्र अस्थायीरूपमा तत्काल कार्यालय सञ्चालनका लागि फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको बताए। आगामी गाउँसभामा पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने भन्दै उनले आक्रोशित नबन्न आग्रह गरे। गाउँपालिका अध्यक्ष गुरुङले पनि तत्कालका लागि अस्थायीरूपमा मात्र फिस्लिङमा वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए। उनले आगामी गाउँसभाबाट पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *