कोरोना महामारीमा बेसार पानीको अत्यधिक सेवन गर्नु भएको त छैन ? कति सेवन गर्ने ?

 

काठमाडौँ । बेसार नेपाली समाजको लागि खानामा नभई नहुने मसला हो । प्रत्येक नेपालीको भान्सामा सजिलै उपलब्ध हुने मसला हो बेसार । बेसारको प्रयोगले धेरै रोगहरू निको पनि पार्छ । यदि रोग निको पार्छ भन्दैमा यसको अत्यधिक सेवन गर्न थाल्यौँ र मात्राभन्दा बढी प्रयोग गर्‍यौँ भने स्वास्थ्यमा नकारात्मक असर पनि पार्न सक्छ ।

बेसार स्वाद, सौन्दर्य र सुगन्ध तीनै दृष्टिकोणले सर्वोत्तम वनस्पति पनि हो । अन्य कुनै मसला नभए पनि हर कोहीले खानामा बेसारलाई अनिवार्य मसलाको रूपमा प्रयोग गरेकै हुन्छ । बेसारमा करिब १५ किसिमका रोगसँग लड्ने क्षमता पनि हुन्छ ।

विभिन्न अध्ययनहरूले यसलाई सौन्दर्य प्रदायक, रक्तशोधक, कफवात नाशक, पित्त शामक, कलेजो उत्तेजक तथा स्वास्थ्यवर्धक औषधि भएको पनि पत्ता लगाएका छन् । अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थले अहिलेसम्म विभिन्न रोगहरूमा बेसारको उपचारात्मक प्रभावको अध्ययन गर्न ७१ भन्दा बढी अनुसन्धान कार्यहरू सम्पन्न गरिसकेको छ ।

तर बेसारको अत्यधिक मात्रामा सेवन गर्दा शरीरलाई फाइदा भन्दा नोक्सानी बढी हुनसक्ने विज्ञहरूले बताएका छन्। व्यक्तिले आफ्नो शरीरको तौलअनुसार बेसार कति खाने भन्ने विषय हर कोहीले थाहा पाउनु जरुरी देखिन्छ । बजारमा विभिन्न किसिमका मिसावटयुक्त बेसारको बिक्री वितरण हुने भएकोले गुणस्तरबारे पनि सबै सजग रहनुपर्ने देखिएको छ ।

अहिले विश्वव्यपिरुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि पनि बेसार खानु उपयुक्त रहेको सरकारी निर्देशिकामा पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार सबैलाई बेसारको सेवन गर्न भनी सुझाइरहेका छन् ।

तर कति सेवन गर्ने त भन्ने बारे सबैले जानकार रहनु जरुरी छ । पर्याप्त ज्ञानबिना बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने विज्ञहरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत औषधि चिकित्सा विज्ञान विभागका सहप्राध्यापक डा. सम्मोद आचार्यले बिबिसीसँग कुरा गर्दै बेसारको मनपरी प्रयोग निकै घातक हुनसक्ने बताएका छन् । तर कोरोना भाइरसबाट जोगाउँछ नै भन्ने कुनै पनि वैज्ञानिक प्रमाण अहिले सम्म आइसकेको छैन । ‘रुघाखोकी लागेका बेला एक दुई दिन बेसारपानीमा राखेर पिउँदा समस्या हुँदैन। तर धेरै बेसारपानी अनियन्त्रित रूपमा खाँदा भने यसले राम्रो गर्छ भन्न नसकिने डा. आचार्यले बताए ।

बजारमा पाइने मिसावटयुक्त बेसारले त झन् क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा रहने समेत देखिएको छ ।

प्राध्यापक गङ्गाप्रसाद खरेलले मानव शरीरमा बेसारको महत्त्वबारे धेरै अनुसन्धान गरिएको र यसले शरीरको प्रतिरक्षा प्रणाली सुदृढ गर्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएको बताएका छन्। तर बेसारको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा समस्या उत्पन्न गराउन सक्ने उनको दाबी छ ।

विज्ञहरूका अनुसार अत्यधिक बेसार सेवनले मिर्गौलासम्बन्धी समस्या भएकाहरूलाई झन् खतरामा पार्ने देखिएको छ । यस्तै अत्यधिक सेवनले एलर्जी, क्यान्सर र कलेजोमामा समेत यसले समस्या निम्त्याउने विज्ञहरूको भनाइ छ ।

कति सेवन गर्ने बेसार ?
विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निष्कर्ष निकालेका छन् ।

बेसारमा कर्क्यमिन नामक रासायनिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्ने राजपत्रमा प्रकाशित ‘फुड स्टयान्डर्ड’मै उल्लेख गरिएको छ।

खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ डा. हुमा बखिमका अनुसार बेसारमा कर्क्यमिनको मात्रा तीन प्रतिशत जति हुन्छ। त्यस्तै जलांश (तौलका आधारमा) १२ प्रतिशत नबढेको, कुल भस्म १० प्रतिशत नबढेको, एसिडमा नघुल्ने भस्म १.५ प्रतिशत नबढेको, लेड क्रोमेट नभएको अनि कुल स्टार्च ६० प्रतिशत नबढेको हुनुपर्ने उल्लेख गरिएको छ।

विज्ञहरूका अनुसार कुनै औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान हुँदैन । रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुने बताइएको छ । बेसार तातो वस्तु भएकोले यसको सेवनले शरीरमा ताप उत्पन्न गर्छ त्यसैले गर्मीमा कम खानु उचित हुने विज्ञको भनाइ छ ।

बेसार पानीमा नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुने विज्ञहरूको भनाइ छ । दूध र बेसारमा थोरै मरीच मिसाएर पिउँदा अझ राम्रो हुन्छ। तर यो पनि अत्यधिक मात्रामा सेवन गर्नु हुँदैन ।

बेसारका फाइदा
१. मुख्यतया बेसारले शरीरमा जलन कम गर्ने, बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन दिँदैन,
२. एन्टी–अक्सिडन्ट गुणका कारण छालामा छिट्टै चाउरी पर्न दिँदैन,
३. पाचन, आन्द्रा र मलाशयसम्मको फोहर मैला निकाल्न सहयोग गर्छ साथै आन्तरिक अङ्गको कार्यक्षमतामा समेत वृद्धि गर्दछ ।
४. पेटको किरा, जुका तथा व्याक्टेरियल इन्फेक्सनमा बेसारको क्वाथ साह्रै फाइदाकारी हुन्छ ।
५. काटेको, पोलेको या अन्य चोट लागेका बेलामा बेसारको धुलो दूधमा मिसाइ सेवन गर्दा फाइदा हुन्छ ।
६. खोकी लागेमा काँचो बेसारको टुक्रा मुखमा राखी चुस्नाले निको हुन्छ ।
७. बेसारसँग नुन र आलसको तेल राखी सेक्नाले सुन्निएको, दुखेको र चोट लागेकोमा तुरुन्त आराम मिल्छ ।
८. रुघाखोकी, टाउको दुख्ने, दाँत दुख्ने, चिसोले कक्रिएको स्थितिमा बेसार मिसाइ उमालेको पानी पिएमा फाइदा हुन्छ ।
९. साइनोसाइटीस, माइग्रेन, पिनास आदिमा मनतातो पानीमा बेसार राखी पिउँदा निकै आराम मिल्दछ ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =