कोरोनाको चपेटामा माइक्रोफाइनान्स, खराब कर्जा बढ्ने चिन्ता

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई केन्द्रित गरी वित्तीय पहुँच विस्तारको माध्यबाट आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन माइक्रोफाइनान्स सक्रिय रहेका छन् ।

कोरोनाको कारणले विपन्न वर्गलाई वित्तीय पहुँचमा लाने माइक्रोफाइनान्स नै समस्यामा पर्न थालेका छन् । कोरोनाको कारण अहिले धेरै माइक्रोफाइनान्स बन्द अवस्थामा छन् । केही खेलेका माइक्रोफाइनान्सले पनि न नयाँ कर्जा दिन सकेका छैनन् । न त कर्जाको असुली गर्न नै सकेका छन् । कोरोनाको कारणले सबै क्षेत्र समस्यामा परेका छन् ।

खासगरी ग्रामिण क्षेत्रमा माइकोफाइनान्सले नै विपन्न वर्गलाई आर्थिक शशक्तिकरणमा भूमिका खेलिरहेको भएपनि सरोकारवाला पक्षहरुले माइक्रोफाइनान्स क्षेत्रमा परेको जोखिमलाई दृष्टिगत गर्न नसकेको देखिएको छ । कोरोना संक्रमण र लकडाउनका कारण माइक्रोफाइनान्सहरुले विना धितो प्रवाह गरेको कर्जा असुलीमा ठूलो चुनौति थपिएको माइक्रोफाइनान्सहरुले बताएका छन् ।

नेपाल लघुवित्त संघका अध्यक्ष जगत पोखरेल साउनसम्म माइक्रोफाइनान्सको अवस्था राम्रो भए पनि अहिले लकडाउनका कारण समस्या भएको बताउँछन् । ‘कोरोनाको कहरले माइक्रोफाइनान्स बन्द जस्तै छन्, ग्रामीण क्षेत्रमा केही मात्रामा सञ्चालन भएपनि तिनीहरुले समेत कर्जा र कर्जाको ब्याज उठाउन सकेका छैनन् ।’ उनले विना धितो प्रवाह गरेको कर्जा जोखिममा परेको जिकिर गरे ।

‘कसैले पनि दिन्न त भनेका छैनन्, तर कोरोनाको कारणले तिर्ने स्रोत नै बन्द भएको हुँदा ऋणीहरु नै चिन्तामा छन् । केही वर्ष माइक्रोफाइनान्सको कर्जा असुलीमा समस्या हुने देखिन्छ,’ पोखरेलले भने ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले लगातारको लकडाउनले वित्तीय क्षेत्रमा ठूलै समस्या आएको बताए ।उनले भने–‘लकडाउन जति बढ्दै जान्छ त्यती नै मानिसको आयस्रोत घट्दै जान्छ । कोरोना संक्रमणबाट बच्नका लागि लकडाउनको विकल्प खोज्न जरुरी छ ।’

लकडाउनले वित्तीय क्षेत्रको कर्जा वितरण र कर्जाको व्याज असुलीमा नै समस्या आएको तुलाधरले बताए । ‘अहिले जुन अवस्थामा चलेको छ, त्यही अवस्थामा माइक्रोफाइनान्स संस्था सञ्चालन गर्ने हो । मालपोत र न्यायलयहरु खुलेपछि मात्रै वित्तीय क्षेत्रका लागि राष्ट बैंकले हेर्नुपर्छ ।’ तुलाधरले भने ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्षमा बसन्त लम्सालले ४ हजार शाखाहरु मध्ये अहिले लकडाउनको समयमा ५० प्रतिशत मात्रै खुलेको र खुलेकोहरुमा पनि केही प्रतिशत मात्रै काम भइरहेको जनाए । ‘हामीले कर्जा व्यापार व्यवसाय गर्नका लागि नै दिएका हौं, अहिले खासै व्यापार छैन, व्यापार व्यवसाय नै बन्द अवस्थामा रहेको कारणले हाम्रो खराव कर्जा वृद्धि हुने देखिएको छ ।’ लम्सालले भने ।

लघुवित्त अभियन्ता तथा फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष भगवती चौधरीले कोरोनाको कारणले अहिले माइक्रोफाइनान्सका क्षेत्रमा समस्या बढ्दै आएको बताइन् ।

‘लकडाउन तथा कोरोना सङक्रमणले सबैको व्यापार व्यवसाय बन्द छ, यस्तो विषम परिस्थितिमा हामीले ऋण लगानी तथा असुली गर्न सक्ने अवस्था छैन, कोरोना संक्रमण अझै बढ्दै जाने हो भने, माइक्रोफाइनान्सलाई झनै कमजोर बनाउँदै लैजाने देखिन्छ ।’ चौधरीले भनिन् । लघुवित्त भनेको पैसाको कारोबार गर्ने क्षेत्र भएकोले पैसाको कारोबार नहुनु भनेको लघुवित्त क्षेत्र कमजोर हुँदै जानु पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीले भनिन् ।

अहिले सबै लघुवित्तहरुको असार मसान्तसम्म ६५ प्रतिशतदेखि ७० प्रतिशतसम्म ऋणको भाका नाघेकोले खराब कर्जा वृद्धि हुने उनको भनाई छ । ‘विगतमा राम्रो पोर्टफोलियो बनाएका माइक्रोफाइनान्सहरु पनि अब कमजोर बन्दैछन् । राष्ट्र बैंकले ल्याएको मौद्रीक नीतिले केही हदसम्म माइक्रोफाइनान्सलाई सहज बनाएपनि प्रयाप्त भएन ।’ चौधरी भन्छिन् ।

यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले माइक्रोफाइनान्सहरु असर परेको समाचारहरु आए पनि अहिलेसम्म खराब कर्जा कति वृद्धि भयो तथ्याङ नआएको बताए । उनले भने–‘अहिले राष्ट्र बैंकले त्यस विषयका छलफल गरेको छैन र माइक्रोफाइनान्सबाट पनि यकिन तथ्यांक आएको छैन ।’

माइक्रोफाइनान्सकोे विकास बङ्लादेशबाट भएको हो । र, त्यहाँ माइक्रोफाइनान्सले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपालमा पनि ठूला बैंक तथा वित्तीय संस्थाहरु गाउँगाउँमा जान नसकिरहेको अवस्थामा ती क्षेत्रमा रहेका गरिब कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक क्षेत्रमा पहुँच पुर्याउने काम माइक्रोफाइनान्सले गरेपनि राज्यले माइक्रोफाइनान्स क्षेत्रलाई उकास्न खासै ध्यान दिन सकेकोे अवस्था छैन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *