नेपाल मेडिकल काउन्सिलको स्थगीत परीक्षा भदौ २० मा गर्ने तयारी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीका कारण स्थगित गरेको चिकित्सकहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा गर्ने तयारी गरेको छ ।

काउन्सिलले आगामी भदौ २० गते काउन्सिलको परीक्षा गर्ने तयारी गरेको छ । यस अघि भदाै ७ गते परीक्षा गर्ने तयारी थियाे । तर, लकडाउन लम्बिएकाे कारणले स्थगित भएकाे थियाे ।

स्वास्थ्य, शिक्षा तथा प्रधानमन्त्री कार्यालय तथा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) समेतलाई जानकारी गराएर परीक्षा सञ्चालन गर्ने तयारी भएको छ । काउन्सिलले यसपटक देखि कम्प्युटर सिस्टममा परीक्षा लिने तयारी गरेको भएपनि सम्भव नभएपछि पुरानै सिष्टमबाट परीक्षा लिने तयारी थालेको छ । यसपटक उपत्यका र उपत्यका बाहिर गरी करीब १६ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

परीक्षार्थीहरु आफुलाई पायक पर्ने स्थानबाट परीक्षामा सहभागी जनाउन सक्छन् । काउन्सिलका अनुसार उपत्यका बाहिर बिराटनगरमा बिराट मेडिकल कलेज, धरानमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, जनकपुरमा जानकी मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको छ । यसैगरी नेशनल मेडिकल कलेज विरगञ्ज, कलेज अफ मेडिकल साइन्सेज चितवन, देवदह मेडिकल कलेज बुटवल, नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जमा तथा मणिपाल मेडिकल कलेज पोखरा गरी ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

काठमाडौँमा सातवटा केन्द्र तय भएको छ । जस अनुसार नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, किष्ट मेडिकल कलेज, महाराजगञ्ज मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा परीक्षा सञ्चालन हुनेछ ।

काउन्सिलले परीक्षाका लागि एउटा हलमा २५ जना र एउटा परीक्षा भवनमा ५० जनासम्म सहभागी गराउने छ । एउटा परीक्षा केन्द्रमा बढीमा १०० जना सम्म राख्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

परीक्षा हलमा स्वास्थ्य सुरक्षा र परीक्षाका लागि हुनुपर्ने आवश्यक सुरक्षाको व्यवस्था प्रबन्ध गरीनेछ । देशका धेरै स्थानमा भदौ १७ गतेदेखि निषेधाज्ञा हट्ने भएकोले काउन्सिलले परीक्षा गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *