जसले गरिबका घरघरमै स्वास्थ्य सेवा पुर्याइरहेका छन्, उनै डा.केसी प्रहरी घेराभित्र ?

काठमाडौँ । डा. गोविन्द केसी पछिल्लो पटक दुर्गमका जनताले स्वास्थ्य सेवा पाउनु पर्ने भन्दै सत्याग्रहको लागि जुम्ला पुगेका छन् । सरकारी सेवाबाट निवृत्त भएपछिको उनको दैनिकी गरिब जनताले स्वास्थ्य सेवा सर्वसुलभ पाउनु पर्ने भन्दै दुर्गमका जिल्लाहरूमा औषधि वितरण देखि स्वास्थ्य सेवा दिँदै आएका छन् । गरिबका घरघरमै गएर औषधि पुर्याउँदै आएका छन् ।
पछिल्लो पटकको अनसन जुम्लाबाट सुरु गर्ने तयारीमा उनी जुम्ला पुगेका थिए । साउन ११ गतेदेखि नयाँ चरणको सत्याग्रह गर्ने उनको तयारी थियो । तर कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि उनी ११ गते नै बिरामीको सेवाका लागि भनेर कालिकोटतिर लागे । त्यसपछि उनी कणालीका विभिन्न जिल्लामा गई त्यहाँका जनताको घरघरमै बिरामीको सेवामा खटिए ।
उनी पुनः साउन अन्तिमतिर जुम्ला फर्किए । साउन ३२ गते उनले सरकारलाई आफ्नो माग पुरा गर्न १० दिनको अल्टिमेटम दिएका थिए । त्यसबिचमा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिग्रीको पढाइ सुरु गर्ने निर्णय गरेको तर आफूलाई उक्त निर्णयबारे थाहा नभएको उनी बताउँछन् । डा. केसीले आफू अनसन बस्ने थाहा पाएपछि सरकारले भदौ १ देखि १० गतेसम्म फेरी निषेधाज्ञा लगाएको बताएका छन् । ती जिल्लाहरूमा कोरोनाको प्रभाव नरहेको पनि उनको भनाइ छ । जुम्लामा १० गतेदेखि थप ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सरकार समक्ष डा. केसीका कर्णाली प्रदेश, २ नम्बर प्रदेश, गण्डकी प्रदेश, डोटी अथवा डडेल्धुरा, उदयपुर र इलाम तथा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत कार्यक्रम सञ्चालन र स्नातकोत्तर तहको अनुमति, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरू लगायत माग छन्। चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गरियोस् लगायतका मागहरूमा भने २०७५ साउन १० गते सम्झौता भएको थियो ।
उनले राखेका अन्य मागहरूमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप कानुनी व्यवस्था गरियोस् भन्ने छन् ।
जुम्लाबाट गरिने सत्याग्रहमा विशेष गरी अछामको बयलपाटा अस्पताललाई नियमित बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गरियोस् भन्ने माग रहेको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी दुई वर्ष अघि पनि जुम्लामा गए्रर अनसन बसेका थिए । सरकारले उनको माग सम्बोधन गरेको थियो । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबिबिएस र डिग्रीको पढाइ सुरु गर्ने सम्झौता सरकारले गरेको थियो । सम्झौता भए पनि डा. केसीका माग पुरा नभएको उनी आफैँ बताउँछन् ।
बिहीवार ११ गते डा. केसीलाई प्रहरीले होटेल बाहिर निस्कन रोक लगाएको थियो । जुम्लास्थित होटेल रोयल गार्डेनबाट बाहिर निस्कँदै गर्दा दर्जनौँको सङ्ख्यामा उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनलाई गेटमै रोकेको थियो । प्रहरीले बाटो छेकेपछि डा. केसी र प्रहरीबिच केही भनाभनसमेत भएको थियो ।
प्रशासनको कुरा मानेर आफैले सत्याग्रह स्थगित गरेको पनि उनले बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले साउन ३२ देखि जिल्लामा निषेधाज्ञा लागूभएकोले केसीलाई सत्याग्रहको मिति सार्न अनुरोध गरेको बताएका थिए ।
जो गरिबका दुःख र वेदना बुझेर घरघरमै गई स्वास्थ्य सेवा दिइरहेका छन् उनै केसीमाथि यस्तो प्रहरी ज्यादती हुनु कहाँ सम्मको गैर मानवीय कार्य हो ? सरकारले यस्तो कार्यलाई रोक्नु पर्छ ।
केसीमाथि गैर मानवीय कार्य रोक्न चिकित्सक सङ्घको माग
यसैबिच नेपाल चिकित्सक सङ्घले डा.गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैर मानवीय कार्य तत्काल रोक्न माग गरेको छ। सङ्घले केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य रोक्न माग गरेको हो।
सङ्घले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिना कारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैर मानवीय कार्य भइरहेको जनाएको छ।








