कोरोना महामारी: ७४८ डोज ‘रेम्डिसिभिर’ नेपाल भित्रियो

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएकाे तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरूमा कोरोनाको गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि विश्व स्वास्थ्य सङ्गठनले समेत राम्रो रहेको भनेको रेम्डिसिभिरको नेपालमा आयातको लागि तीनवटा कम्पनीलाई अनुमति दिएको र ती कम्पनीले औषधि ल्याउन शुरु गरेको बताए ।

नेपालमा सो औषधि आयात गर्नको लागि अनुमति पाएका तीनवटा कम्पनीमध्ये हरेक कम्पनीलाई दुई-दुई हजार डोज औषधि ल्याउने अनुमति दिएसँगै ७४८ भाइल औषधि नेपाल आइपुगेको छ । अर्काे कम्पनीले भने औषधि ल्याउने क्रममा रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता केसीले बताए ।

यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अहिले केही बिरामीलाई परीक्षणका रुपमा दिन शुरु गरिएको र तत्कालका लागि एक सय जना जतिका लागि आवश्यक हुने अनुमानका आधारमा हामीलाई एक हजारदेखि १५ सय डोजसम्म आवश्यक हुन सक्ने बताए ।

त्यस्तै, बङ्गलादेशबाट पनि पाँच हजार डोज औषधि आउन लागेको भन्ने सम्बन्धमा औषधि व्यवस्था विभागलाई अनौपचारिक जानकारी भए पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रवक्ता केसीले बताए ।

अहिले नेपालमा गम्भीर अस्थामा रहेका बिरामीको पनि चिकित्सकले अवस्था हेरेर मात्र यो औषधि चलाउन सिफारिस गर्ने हुँदा अहिलेको मागलाई धान्न सक्ने र अर्को कम्पनीले पनि छिट्टै औषधि ल्याउने हुँदा बिरामीका समस्या नहुने उनले बताए । बुधबारसम्म १७ जना बिरामी आइसीयूमा उपचार गराइरहेका छन् । आइसीयूमा भर्ना भएका सबैलाई यो औषधि दिनैपर्छ भन्ने पनि नरहेको चिकित्सकहरू बताउँछन् ।

बिरामीको अवस्था हेरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदले निर्माण गरेको मापदण्डको आधारमा बिरामीहरूका लागि फरक फरक डोजमा रेम्डिसिभिर प्रदान गरिने डा. केसीले बताए । बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रेम्डिसिभिर प्रदान गरिने उनले बताए ।

कोरोना सङ्क्रमित सबैलाई यो औषधिको डोज दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले गम्भीर अवस्थामा मात्रै यो औषधिको प्रयोग गरिने उनले बताए । उनका अनुसार सुरुमा दुई डोज दिएर छ दिनसम्म एक/एक डोज दिएर सात डोज र अर्काे भनेको सुरुमा दुई डोज दिएर नौ दिनसम्म एक/एक डोज लिएर ११ डोज दिएर उपचार हुने गरेको उनले बताए ।

यो बिरामी तथा आफन्तले माग गरेर भन्दा पनि उनीहरूको अवस्थाको आधारमा नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको आधारमा डोज दिएर उपचार गरिने डा. केसीले बताए । नेपालका विभिन्न जिल्लाहरूबाट कोरोनाको उपचारमा सो औषधिको प्रयोग परीक्षणका रुपमा अनुमति दिएसँगै त्यसको कालोबजारी हुन थालेसँगै विभागले एकद्वार नीति लिँदै कालोबजारी कम गर्न तीन कम्पनीलाई अनुमति दिएको हो ।

अहिलेसम्म कोराेनाको कुनै पनि औषधि तथा खोप पत्ता लागि नसकेको अवस्थामा इबाेलाकाे उपचारमा प्रयोग हुने सो औषधि गम्भीर अवस्थामा भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका सङ्क्रमितहरूका लागि निक्कै उपयोगी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत यसलाइ सिफारिस गरेपछि नेपालमा यसको प्रयोग सुरु भएको डा. केसीले बताए ।

तीन कम्पनीले नेपालमा औषधि ल्याएपछि कुन कुन अस्पातलले त्यसको प्रयोग गरे भन्ने बारेमा औषधि व्यवस्था विभागले तथ्याङ्कसमेत राख्ने डा. केसीले बताए । तीन कम्पनीले भारतबाट औषधि ल्याउन अनुमति पाएको र सोही आधारमा बिरामीको सङ्क्रमणको आधारमा औषधि ल्याउने कार्य हुने डा. केसीले बताए । उनले औषधिको मूल्य सात हजार ६०० कायम गरिएको बताए ।

विश्वभरि अस्पतालहरूमा रेम्डिसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको डा. केसीले बताए । उनले कोभिड–१९ का लागि यो उत्साहपूर्ण भएको तर रामवाण चाहिँ नहुने बताएका छन् । –गोरखापत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *