कसको भयो जित: ओली कि प्रचण्ड ?

काठमाडौं । केही महिनादेखि आन्तरिक विवादमा रुमल्लिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान उन्मुख देखिएको छ । मुलुक कोरोना संक्रमणको त्रासले आक्रान्त बनिरहेकै बेला सुरु भएको चरण चरणका वार्ता-भेला र छलफल हुँदै कार्यदलसम्म पुग्यो ।
कोरोना महामारीको रोकथाम, नियन्त्रणमा जुट्नु पर्ने शीर्ष नेताहरू अझै आन्तरिक किचलो कै कारण दौडधुप गरिरहेका देखिन्छन् । तर, कार्यदलले प्रतिवेदन बुझाएपछि भने पार्टीभित्रको विवाद समाधान उन्मुख रहेको भनी चर्चा गरिएको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गर्ने र त्यसलाई सचिवालय बैठकमा लैजाने सहमति पार्टीमा भएको हो ।
कसको भयो जित !
कार्यदलले तयार पारेको प्रतिवेदनले प्रधानमन्त्री ओलीको दुवै पद सुरक्षित गरेको छ । प्रतिवेदनमा अध्यक्ष ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ । उनी मूलतः सरकारको काममा केन्द्रित हुने भनिएको छ ।
तर धेरैलाई चासो छ- त्यसो भए प्रतिवेदनले अर्का अध्यक्ष प्रचण्डको अधिकार थपेकाले उनी ओलीलाई दुवै पदमा राखिरहनेगरी पछि हटेका हुन् ? प्रधानमन्त्रीमा आलोपालोको सहमति त्यागेपछि गत मङ्सिर ४ गतेको निर्णयले प्रचण्डलाई कार्यकारी अधिकार दिएको थियो । उक्त अधिकारमा ‘प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने’ भनिएको थियो । र मंसिर ४ गतेको निर्णयको थप व्याख्या गरेर अहिलेको प्रतिवेदनमा प्रचण्डको अधिकारबारे स्पष्ट पारिएको छ ।
कार्यदलको प्रस्तावले ओलीलाई त फाइदा नै गरेको छ । अर्का अध्यक्ष प्रचण्डलाई के फाइदा भयो त ? प्रतिवेदनमा प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने उल्लेख छ । यसबाट अब सबै बैठक प्रचण्डले सञ्चालन गर्ने र निर्णय कार्यान्वयनमा उनको भूमिका बढ्ने अनुमान गरिएको छ ।
यसअघिको निर्णयमा पनि आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने भनिएको थियो । तर त्यो पूर्ण रूपमा लागु भएको थिएन । प्रचण्ड आफैँले कार्यकारी भूमिका निर्वाह गर्न नपाएको गुनासो गर्दै आएका थिए ।
ओली-दाहालबीच छलफल आज
पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुअघि दुई अध्यबीच पहिले छलफल हुन लागेको हो ।
यसअघि सोमबार छलफल हुनसक्ने बताइएको थियो । तर, आज मात्रै छलफल हुने नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । कार्यदलको प्रतिवेदन सचिवालय र स्थायी कमिटीमा छलफल गरी सहमति खोज्ने शीर्ष नेताहरुले तयारी गरेका छन् ।
१० असारमा सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित बहुमत स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग भएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।
चरम उत्कर्षमा पुगेको विवाद समाधानका लागि अध्यक्षद्वय ओली–प्रचण्डले साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहेको कार्यदल गठन गरेका थिए । उक्त कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेर बैधानिकता दिएको थियो ।








