काठमाडौं उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाभित्र २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिनसक्ने जोखिमलाई रोक्न र पूर्वसतर्कता अपनाउनको लागि उक्त योजना बनाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मकालु खबरलाई जानकारी दिए ।

“यो विषयमा आजको उपत्यका नगरपालिका फोरमको बैठकमा सल्लाह हुँदैछ । कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरु आफैँ सम्पर्कमा आए भने चाँडै सफलतामा पुगिन्छ भन्ने लागेर यस्तो गरिएको हो ।” प्रवक्ता डंगोलले भनेका छन् ।

गत आइतबारको नगरपालिका फोरमका पदाधिकारीको बैठकले पनि यो विषयउपर छलफल गरेको थियो । ‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । यो प्रक्रिया निरन्तर रहने हो भने समुदायस्तरमा झनै खतरा हुन्छ ।’ प्रवक्ता डंगोलले हामीसँग भने ।

हाल काठमाडौं उपत्यकामा निषेधाज्ञामा जारी छ । पछिल्लो समय उपत्यकाभित्र कोरोना संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या ३ हजार २ सय नाघिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *