चिकित्सकमाथि दुर्व्यवहारः नेपाली नागरिकको ‘कालिदास’ प्रवृत्ति !

काठमाडौं । विश्वमा आजसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ८ लाख १२ हजार ४०७ जनाले मृत्युवरण गरिसकेका छन् । यो रोगबाट २ करोड ३५ लाख ८१ हजार ८८८ जना ग्रसित छन् ।

कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिका हो, जहाँ आज बिहानसम्म १ लाख ८० हजार बढीको ज्यान गएको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ भने हालसम्म १ लाख १४ हजार १७२ जनाको मृत्यु भएको छ ।

नेपालको सिमाना जोडिएको छिमेकी मुलुक भारतमा पनि दिनहुँ संक्रमित बढिरहेका छन् । त्यहाँ आजसम्म कोरोना संक्रमणबाट ५७ हजार बढीको मृत्यु भएको छ । दिनहुँ करिब ७० हजारको संख्यामा संक्रमित थपिएका छन् । संक्रमितको संख्या ३० लाख पार भइसकेको छ ।

कोरोना संक्रमित अत्यधिक भएका यी तीन देशसहित विश्वका कुनैपनि सहरमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको खासै सुनिँदैन । भारतका केही राज्यमा बाहेक अन्य ठाउँमा चिकित्सकलाई सम्मान गरिन्छ ।

यी तीन देशको तुलनामा नेपालमा संक्रमित दर कम छ, स्वास्थ्यकर्मीलाई सम्मान गर्ने प्रवृत्ति पनि । स्वास्थ्य मन्त्रालयले जारी गरेको हिजो (आइतबार) सम्मको तथ्यांक हेर्ने हो भने यहाँ कुल संक्रमित संख्या ३१ हजार ९३५ पुगेको छ । यीमध्ये १४९ जनाको मृत्यु भइसकेको छ भने १८ हजार ६३१ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

विश्वभरका १ करोड ६० लाख बढी संक्रमित निको भएका छन् । यसको श्रेय जान्छ अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई । ज्यानको बाजी थापी कोरोनाको मुखबाट नागरिकलाई थुतेर सकुशल घर पठाउने चिकित्सकले विश्वभर स्याबासी पाइरहेका छन् । तर, नेपालमा भने घृणा, दुर्व्यवहार र आक्रमणको शिकार हुनु परेको छ ।

न पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री छन्, न सरकारको साथ/सहयोग छ । प्रोत्साहन भत्ता शिर्षकमै सिमित छन्, पीपीईका लागि हारगुहार गर्नुपर्छ । न त समयमै नास्तापानी पाउँछन् । कतिपय चिकित्सक त डाइपर लगाएर चौबिसै घण्टा जनताको उपचारमा खटिएका छन् । खाना, खाजा, थकान केही नभनि कोरोनाको आहार बन्नबाट नागरिकलाई जोगाइरहेका छन् ।

तिनै चिकित्सकलाई डेरामा बस्न दिइँदैन, पीसीआर रिपोर्ट मागिन्छ । आफ्नै घरमा समेत घृणाले हेरिन्छ । समाजमा विभेद गरिन्छ । गाउँ, समुदायका प्रायः मानिसहरु त अशिक्षित छन्, चेतनाको कमीले यस्ता हर्कत गरे भनौँ । तर, राजधानीमै चिकित्सकमाथि जंगली व्यवहार ! नागरिकको ज्यान जोगाउने चिकित्सकले आफ्नो ज्यान जोगाउन आन्दोलन गर्नुपर्ने ? यो सोचनिय छ !

भारतमा संक्रमण बढिरहेका कारण नेपालमा अझै कोरोनाको जोखिम टरेको छैन । मृतक संख्या र संक्रमित दर दिनहुँ बढिरहेको छ । अस्पतालका वार्ड र आईसीयूहरु भरिभराउ भइसकेका छन् । स्वास्थ्य विज्ञहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिइरहेका छन् । रोग र भोकबाट नागरिक ब्याकुल बनिरहँदा सरकारको ध्यान अझै महामारीतर्फ केन्द्रित हुन नसकेको यो घडीमा भयावह स्थिति थेग्न सक्ने नेपालको क्षमता छैन !

यस्तो अवस्थामा आफ्नो जीवन क्षति हुनबाट जोगाउने, प्राणको रक्षा गर्ने चिकित्सकमाथि दुर्व्यवहार गर्ने नेपाली नागरिकको ‘कालिदास प्रवृत्ति’ अमानविय र अशोभनिय छ । कोरोना महामारीमा चिकित्सकमाथि दुर्व्यवहार गर्नु भनेको रुखको हाँगामा बसेर कालिदासले रुखको फेद काट्नुजस्तै हो ! उनीहरुलाई हतोत्साहित बनाउनु भनेको आफ्नै दुर्घटना निम्त्याउनु हो ।

अर्को कुरा लक्षण नदेखिएका बिरामीको संख्या अधिक छ । को संक्रमित छन्, हेरेर देखिँदैन । तपाईँ, हामी, जसलाई जतिबेला पनि संक्रमण हुन सक्छ । रोग हो, मलाई लाग्दैन भनेर घमण्ड गर्नुको औचित्य छैन । त्यसैले कोरोना संक्रमित बिरामी र उपचारमा खटिएका चिकित्सकलाई हेला नगरौँ ।

‘रक्षा गर प्रभु’ भन्दै निर्जिव ढुंगा अगाडि गिड्गिडाउने, ढोग्ने हामी ‘जिउँदो देवता’ चिकित्सकलाई सम्मान गर्न किन सक्दैनौँ ?

सबै एकजुट भएमात्र महामारीको सामना गर्न सकिन्छ । बेलैमा सचेत बनौँ ।

कसैलाई दुर्व्यवहार गरेर, होच्याएर कोरोनाबाट जोगिँदैनौँ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु छन्, त्यो पुरा गरौँ । सामाजिक दुरी कायम राखौँ । बाहिर हिँड्दा अनिवार्य मास्कको प्रयोग गरौँ । सकेसम्म त घरबाहिर नै ननिस्कौँ । सेनिटाइजर प्रयोग गर्ने, हात धुने बानीको विकास गरौँ । आफू र आफ्नो परिवारलाई कोरोनाबाट बचाऔँ ।

थप भयावह स्थिति आउन नदिन समयमै विचार पुर्याऔँ !

आफूभित्रको अज्ञानता र मूर्खतालाई समयमै पहिचान गरी मुर्ख कालिदास हाेइन विद्वान कालिदास बन्न सिकौँ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *