गरीब र दीर्घरोगीको सहारा बन्दै उपमेयर लामा 

  • ध्रुवराज खनाल

चितवन । कोरोना भाइरसको संक्रमणका कारण अहिले सबै क्षेत्र प्रभावित छ । रोग नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन गर्यो । बीचमा लकडाउन खोलेपनि अहिले अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । जसकारण नियमित अस्पताल जानुपर्ने बिरामी मर्कामा परेका छन् । विशेषतः दिनदुःखीहरु प्रत्यक्ष  प्रभावित छन् ।

कोरोना महामारीका बिच गरीब तथा दीर्घरोगीहरु पनि समस्यामा छन् । गरीब र दीर्घरोगीका लागि अहिले चितवन राप्ती नगरपालिका उपमेयर इमानसिंह सहारा बनेका छन् । क्यान्सर र मृगौला रोगीलाई घरबाट भरतपुरका सम्बन्धित अस्पतालहरुमा ल्याई उपचार गर्ने/गराउने र घर फिर्ता गरी लैजाने काममा उनको दैनिकी बितेको छ ।

नगरभित्रका जनतालाई कोरोनाबाट कसरी बचाउन सकिन्छ भन्ने दौडधुपमा रहेका उनी अप्ठ्यारोमा परेकाहरुको सहारा पनि बनेका छन् । उपमेयर लामा आफूले गरेको कामको प्रचार गर्न पनि त्यति रुचाउँदैनन् ।  अहिले निषेधाज्ञा छ । अवस्था सामान्य छैन । तर निषेधाज्ञाबीच सामान्य जीवनयापन गरिरहेका गरीब तथा दीर्घरोगीलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिन्छन् उनी । उनले लकडाउनका बेला पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गरेका थिए ।  ‘अप्ठ्यारो पर्यो भनेर खबर गर्छन् । सकेसम्म र भ्याएसम्म आवश्यक परेकाहरुका लागि सहयोग गरिरहेको छु’, उपमेयर लामाले भने ।

सोमबार बिहानै एक महिलालाई अस्पताल पुर्याएका उनले साेही दिन अन्य २ जना बिरामिलाई अस्पताल लैजान लागेको बताए ।  उनका अनुसार राप्ती नगरपालिकामा मात्रै क्यान्सर र मृगौला रोगी करिब १२० जना छन् ।  कुनै बेला एकैदिन ३ जनासम्म बिरामी उनले ओसार-पसार गरेका छन् । उनी आफैँ चालक भएर बिरामी ओसार्ने गरेका छन् । नगरपालिकाले पनि यस्ता बिरामीहरुको सेवाका लागि एउटा समिति र कार्यविधि समेत बनाएको उनले जानकारी दिए ।

‘निजी र सार्वजनिक यातायात चलेको छैन, एम्बुलेन्स भनेको बेलामा पाइँदैन । कतिपयले अनेक कुरा गरेर टार्छन्,’  उपमेयर लामा भन्छन्, ‘उपचारै नपाएर कसैको ज्यान जोखिममा नपरोस् भनेर सेवामा लागेकाे हुँ ।’

नेपाली सेनाको कुटाईबाट मृत्यु भएको भनिएका राप्ती नगरपालिका २ का राजकुमार लामाको घर समेत उपमेयर लामाकै पहलमा निर्माण भइरहेको छ । उनले भने, ‘मैले जनप्रतिनिधिको रुपमा तलब भत्ता लिएपनि व्यक्तिगत काममा खर्च गरेको छैन । आफ्नै पालिकाभित्रका दिनदुःखीको घर निर्माण र अरु सेवामा खर्च गर्ने गरेको छु ।’

उनकै नेतृत्वमा ५ वटा घर बन्दै गरेका छन् । जंगली हात्तीले भत्काएको अमन चेपाङको घर, छोरी बलात्कर पीडित भएकी र श्रीमतीले पनि छाडेर गएकी सुस्त मनस्थिति भएका राप्ती ६ का राजु परियारको घर निर्माण भएको उपमेयर लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =