‘धानमात्र हैन, नेताहरुको बुद्धिपनि सोत्तरै भएछ’

गतसाता अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भए । ७ जनाको लाश त भेट्टियो, वेपत्ता भएका १० जनाको अझैसम्म कुनै खोजखबर आएको छैन । मानवीय क्षतिसँगै करोडौंको भौतिक क्षति पुर्याएको बाढीको निरीक्षण गर्न र पिडितलाई राहत प्रदान गर्न स्वयं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली शुक्रबार लाखौं खर्च गरेर सेनाको हेलिकप्टर नै चार्टर गरेर प्रकोप स्थल पुगे ।

पिडितको पीडामा मलम लगाउन पुगेको गृहमन्त्री ‘बादल’को जम्बो टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए ।

अछामकाे रामाराेशन ५ स्थित मने साउदकाे धानबाली माडेर भाषण गर्दै गृहमन्त्री रामबहादुर थापा लगायत

केन्द्रबाट गृहमन्त्रीकै नेतृत्वमा जम्बो टोली नै प्रकोपको निरीक्षण गर्न तथा राहत वितरण गर्न आउने थाहा पाएपछि पिडितका अनुहारमा सरकारले उद्दार गर्छ कि भन्ने आशाको दियो बलेको थियो । तर, त्यहाँ पुगेका नेताहरुले पिडितको घाउमा मलम पट्टी त हैन आलो घाउमा नुनचुक दल्ने हर्कत गरे । सत्तारुढ नेकपाभित्र राम्रै हैसियत बनाएका नेताहरुले कैलाश खोलाको बाढीबाट जोगिएको धान ‘सोत्तर’ पारेर कार्यक्रम गरे । जसको जतिसुकै आलोचना गर्दा पनि कम हुन्छ ।

स्थानीय मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको लहलहलाउँदो धानबालीमा हेलिकप्टर उतारिँदै गर्दा गृहमन्त्री र भीम रावल सहितको टोलीले कैलाश खोलाको बाढीबाट बचेको धानबालीको हरियाली देखेनन् । त्यो हरियाली धानबालीबाट ‘किसानले वर्षभरीको अन्न उब्जाउँछ मास्नु हुँदैन’ भन्ने त्यहाँ रहेका कुनैपनि नेताहरुसँग सोच्न सक्ने सामर्थ्य रहेनछ । सायद काठमाडौंका आलिसान महलमा बस्नेहरुले दुरदराजका गरिब किसानका दुखः कष्ट विर्सिए क्यारे, मने साउदको हरियो खेतमा धानमात्र हैन, नेताहरुको बुद्धिपनि सोत्तरै भएछ ।

अझ त्यहीँ टेवुल कुर्ची राखेर गृहमन्त्रीले समाजवादको भाषण गरे, सहानूभूतिका दुई शब्द खर्चिए अनी एक पोका दाल, एक पोका चामलसँगै झुट्टा आश्वासनका केही पोका पिडितका हत्केलामा थमाएर शानका साथ राजधानी फर्किए ।
बडो विचित्रको छ नेपाली कम्युनिस्टहरुको समाजवाद । बडो दुरगामी छ हाम्रा नेताहरुको सोच । भकारी भरी हुने धानको बोटमा ‘दाईं’ गरेर केही किलो चामल, दाल दिएर समाजवाद आएको तर्क गरे ।

तर, वास्तविकता यो हो की नेताहरुले दिएको एकाध किलो दाल चामलले पिडितलाई वर्षभरी हैन एकाध छाक टार्नु वाहेक केही गर्न सक्दैन । सायद, समाजवादको अर्थ ‘खाँबो उखेलेर टाटीको बार’ पो होकि ? नेताहरुको हर्कतले यस्तै पो बुझियो ।

बर्षभरी खानका लागि लगाइएको धानबालीमा ‘दाईं’ गरेर पिडितलाई दिएको राहतको पोकोको कुनै अर्थ छैन । दश नङ्ग्रा खियाएर फलाएको धानका हरियाबाला कुल्चेर बाँडेको राहतको प्याकेट भन्दापनि ती गरिब किसानलाई आफ्नै पौरखले उब्जाएको अन्न प्यारो थियो । गरिब किसानको मुक्तिको खातिर राजनीति गरेको भन्नेहरुले नै गरिबको पसिनाले सिर्जित अन्न सखाप बनाउँदाको पिडा बाढीले निम्त्याएको वितण्डा भन्दा चर्को हुनेछ ।

नेकपामा राम्रो छवि बनाएका नेता भीम रावलले बाढीमा ज्यान गुमाएका परिवारलाई किरिया खर्च भनेर दिएको एक लाख सहयोगको पनि कुनै अर्थ रहेन । मुलुकमा समाजवाद ल्याउनुपर्छ भनेर गरिब, किसानका पक्षमा नारा लगाउँदै सिंहदरबार छिरेकाहरुले तीनै गरिब किसानको अपमान हुने गरी अन्न नाश गर्नु कहाँको समाजवाद हो ? प्रश्नहरु स्वभाविक छन् ।

बाढीबाट बचेको धानबालीमा हेलिकप्टर विसाउनुको सट्टा घरघर गएर पिडित जनताका दुखःमा मलमपट्टी लगाएको भए सार्थक हुन्थ्यो तर, समाजवादको खोल ओढेर पुजीँपति, दलाल र नोकरशाहीहरुको फेरो समात्न पल्केका कम्युनिस्टहरुमा कहाँबाट यत्तिको चेत आवोस् ? यिनीहरुले जनताको बहुदलीय जनवाद र कार्ल माक्र्स तथा माओत्सेतुङको समाजवादकै ‘धज्जी’ उडाए ।

सरकारले कोरोना महामारीका नियन्त्रणका लागि सार्वजनिक कार्यक्रम–भेला नगर्न भनेको छ । स्वयं गृहमन्त्रीले पटकपटक आदेश दिएका छन् । तर, आफैं आदेशको अवज्ञा गर्दै दुई दर्जन बढी मानिसहरु सहभागी कार्यक्रममा भाषण दिए । यसले नेताहरु र शासकले जे गर्दापनि हुन्छ, नियम कानुन कुल्चिए पनि हुन्छ भन्ने सन्देश प्रवाह भएको छ । उसैपनि ‘नेपालको कानुन दैव जानुन्’ भन्ने गरिन्छ । कानुन बनाउनेहरु नै कानुनको धज्जी उडाउँदै हिँड्छन् भने सर्वसाधारणले लकडाउनको अवज्ञा गर्नु कुन ठूलो कुरो भयो र !

नेपाली कम्युनिस्ट नेताहरुमा अब नैतिकता भन्ने रहेन । जनताको लागि राजनीति गरेको हुँ भन्नेहरु जनताका नजरमा घृणित भइरहेका छन् । समाजवादले गरिब, निमुखा जनताका पक्षमा काम गर्नुपर्छ भन्छ, तर हाम्रो देशका समाजवादका पथप्रदर्शकहरु नै गरिब निमुखा जनताको घाँटी निमोठिरहेका छन् । लहलहलाउँदो धानको बाला कुल्चिएको एउटा उदाहरण मात्र हो, यहाँ दिनदिनै जनताको परिवर्तनको सपनालाई कुठाराधात गरिएको छ । शुशासन, विकासका नारा फगत नारामा सिमित पारिएका छन् । दुर दराजमा जनताहरु सिटामोल नपाएर मर्दैछन्, सुत्केरीहरु अस्पतालको मुख देख्न नपाई कालको मुखमा पुग्दैछन् । कोरोनाको कहरमा गरिबहरु घरभित्रै भोकभोकै मर्न विवस छन् । गरीखान विदेशीएकाहरु बाकसमा पोको परेर आउँदैछन् । आखिर कहिलेसम्म हो यस्तो नियति ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *