बाढीबाट जोगिएको धान ‘सोत्तर’ पारेर गृहमन्त्रीको सभा

काठमाडौं । गत मंगलबार अछामको रामारोशन गाउँपालिका-५ कैलाशखोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भए भने कराडौंको क्षति पुर्यायो । बेपत्ता १७ मध्ये आइतबारसम्म ७ जनाको शव भेटिएको छ र अझै १० जना हराइरहेका छन् ।

मंगलबार अछाममा बाढीले ठूलो क्षति गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि भन्दै अछाम पुगे । पीडितको पीडामा मलम लगाउन पुगेको बादलको जम्बो टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए ।

तर, त्यहाँ पुग्दा राजनीति र कूटनीतिमा राम्रै हैसियत बनाएका नेताहरुले थोरै ‘विवेक’ नपुर्याउँदा आलोचनाको सिकार हुनुपरेको छ । आलोचना पनि कसरी नहाेस्–बाढीबाट जोगिएको धान ‘सोत्तर’ परेर कार्यक्रम गरेपछि । कैलाश खोलाको बाढीले रामरोशन ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्‍यो, बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले जोगिएको धानखेतको केही क्षेत्र सखाप पार्यो ।

एकातिर कोरोना महामारीका नियन्त्रणका लागि सरकारले सार्वजनिक कार्यक्रम–भेला नगर्न भनेको छ । त्यसको कडाइका साथ कार्यान्वयन गर्न गृहमन्त्रालयले कम्मर कसेको छ तर, मन्त्रालयकै मन्त्री भने आदेश मिच्दै दुई दर्जन बढी मानिस सहभागी कार्यक्रममा भाषण दिँदै थिए । उक्त टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका राहत उपलब्ध गरायो ।पूर्वगृहमन्त्री एवं त्यही क्षेत्रका सांसद भीम रावलले किरिया खर्च भन्दै १ लाख रुपैयाँ दिए तर, बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको पीडितहरूले रुचाएका छैनन् । पीडितहरुले मात्रै होइन, सत्तारुढ पार्टी समर्थक र आम नागरिकले उक्त कार्य उचित नभएको प्रतिक्रिया दिँदै आलोचना समेत गरेका छन् ।

उनीहरुले खेतमा आयोजना गरिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्रीले धानबाली नदेखेको भन्दै आलोचना गरेका छन् । ‘रामारोशनको ताल फुटेर बगेको बाढीले सोत्तर परेको सैनीबजार हेर्न हेलिकप्टरमा गएका नेताहरूको विवेक फुटेर सोत्तर परेको यो धानखेत’ भन्दै एक सक्रिय पत्रकारले तस्बिरसहित स्टाटस् लेखेकी छिन् ।

तस्बिरमा बाढीले बगाएको बगरमा स्थानीयलाई राखेको र धानखेत माथि मन्त्रीसहित विशिष्ट व्यक्तिले कुर्सी टेबल राखेर औपचारिक कार्यक्रम गरेको देखिन्छ । तर समारोशन गाउँपालिका भने फोटोसहित स्पष्ट देखिएको यो घटनाको बचाऊ गर्दै भन्छ- ‘सामाजिक दूरी कायम गरेर सभा गरिएको हो ।’

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले सामाजिक दूरी कायम गर्न मन्त्रीसहित विशिष्ट व्यक्तिलाई माथि राखिएको बताइन् । ‘विशिष्ट व्यक्तिहरुलाई माथि राखिएको हो,’ उनले भनिन्- धानखेत मास्ने हाम्रो कुनै उद्देश्य हैन, सभा गर्दा थप धान नष्ट भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *