सैलुन सञ्चालकलाई कोरोना देखिएपछि काँडाघारी सील

काठमाडौं । सैलुनमा कपाल काट्नुको विकल्प कहाँ खोज्न सकिएला ? तर, कोरोना संक्रमणको बेला सैलुनमा कपाल काट्नु आफ्नो स्वास्थ्यलाई जोखिममा पार्नु हो ।
कतिपय विदेशी मुलुकमा सैलुन पुर्णरुपमा सील गरीएकोमा नेपालमा भने निर्वाह चलिरहेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्नु अगाडी राजधानीमा लकडाउन खुकुलो बनाएको थियो । सो बेला लामो समयको लकडाउनमा घर गएका सैलुन सञ्चालकहरु अहिले राजधानी भित्रिएसँगै कोरोना संक्रमणको जोखिम बढेको पाइएको छ ।
काठमाडौंमा सैलुन सञ्चालकमा कोरोना संक्रमण देखिएपछि एउटा टोल नै सील गरीएको छ । सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए ।
सैलुनमा दाह्री कपाल काट्न आउनेहरुबाट समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै सैलुनमा दाह्री कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको मेयर थापाले बताए । सम्पर्कमा आएका हरुको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
‘कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको छ, सैलुनमा कपाल काट्न को–को गएका थिए, कन्ट्रयाक ट्रेसिङ भइरहेको छ ।’ मेयर थापाले भने ।
काँडाघारी क्षेत्र नगरपालिकाकै घना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ गरीएको छ । वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । दर खाएको ठाउँबाट कोरोना फैलिएको भन्ने आशंका भएकोले त्यहाँ को–को गएका थिए पत्ता लगाएर स्वाब संकलन गरी परीक्षण गर्ने तयारी भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाभित्र अहिलेसम्म ७१ जनामा कोरोना पुष्टि भइसकेको छ । नगरपालिकाले गोठाटारदेखि काँडाघारी क्षेत्रमा हिँडडुलमा थप कडाई गरीरहेको छ । कोरोना संक्रमित देखिएका टोलमा सील गरेर कन्ट्रयाक ट्रेसिङ गर्दै स्वाब संकलन गरी परीक्षण गरिएको छ ।
काठमाडाैंमा लुकिछिपि सैलुन सञ्चालन भइरहेका छन् । कतिपय सैलुन सञ्चालकले हाेम सर्भिस पनि दिइरहेका छन् ।
यस अघि सुनसरीको दुहवीमा पनि पहिलो पटक सैलुन सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दुहवीमा कोरोना समुदाय स्तरमै पुगेको छ ।
स्वास्थ्यविद्हरुले सैलुनमा आवतजावत बढि हुने र कापाल दाह्री काट्दा सामाजिक दुरी कायम नरहने र कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले अहिलेको अवस्थामा घरमै सुरक्षित रहेर सकेसम्म आफैं दाह्री कपाल काट्नु पर्ने सुझाएका छन् । दाह्री स्वयंले काट्न सक्ने भएपनि कपाल चैं काट्न सकिँदैन ।








