काेभिडकाे उपचार नगर्ने अस्पतालहरूलाई दिइएकाे पीसीआर परीक्षण अनुमति खारेज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमित बिरामीका लागि एक तिहाई बेड नछुट्याउने मेडिकल कलेज र प्रतिष्ठानलाई दिइएको कोभिड पीसीआर परीक्षण अनुमति खारेज गर्ने भएको छ ।
इन्सिडेन्ट कमान्ड सिस्टमले सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै २० प्रतिशत बेड कोरोना उपचारका लागि नछुट्याउने प्राइभेट अस्पताललाई दिइएको पीसीआर परीक्षण अनुमति पनि खारेज गरिने पनि प्रवक्ता गौतमले बताए ।
जुन मेडिकल कलेज र प्रतिष्ठानले एक तिहाई बेड कोरोना परीक्षणका लागि छुट्याउँछन् उनीहलाई भने ल्याब सञ्चालन गर्न दिइने उनले जानकारी दिए ।
‘आउने एक–दुई वर्ष कुनैपनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्रै उपचार गर्छु भन्ने सम्भव छैन । गम्भीर बिरामीलाई कोरोना पोजेटिभ देखिएपछि रेफर गर्न पनि सम्भव हुँदैन’, प्रवक्ता गौतमले भने, ‘किनकी सरकारी अस्पतालहरु कोभिड बिरामीहरुले भरिभराउ हुने सम्भावना छ । यस्तो अवस्थामा कोभिड बिरामीलाई प्राइभेट अस्पतालले उपचार गर्दिन भन्न मिल्दैन’, उनले भने । प्राइभेट अस्पतालले पनि कोभिड–ननकोभिड दुवैको उपचार गर्नुपर्ने उनको भनाइ छ ।









