नेपाललाई कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै उपलब्ध गराउने : रूसी राजदूत

काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभले कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको शिष्टाचार भेटमा राजदूत नोभिकभले आफ्नो देशले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका हुन्। उनले रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउने र नेपाललाई प्राथामिकतामा राखेर उपलब्ध गराउन बताए ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारीलगायतका विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेको उल्लेख गर्दै हालै रूसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको बताए।

अध्यक्ष तिमिल्सिनाले रूसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरेका छन् ।

तिमिल्सिनाले रूसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *