‘रिलायन्स र पुराना बीमा कम्पनीहरुको बोनसमा कुनै भिन्नता छैन’ (भिडियो अन्तरवार्ता)

पछिल्लो समय बीमा गर्नेहरुको संख्या बढ्दै गएको छ । बिस्तारै नेपालमा पनि बीमाका फाइदाहरु र बीमाका विषयमा जानकारी बढ्दै गइरहेको छ । बीमा भनेकै कुनैपनि भवितव्यबाट सुरक्षा खोज्न र बचतका लागि गरिने योजना हो । कोरोनाको संक्रमण बढ्दै गएको समयमा बीमाको बजार कस्तो भइरहेको छ । बीमा के हो ? बीमा केका लागि गर्ने ? भन्ने विषयमा केन्द्रीत भएर रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीसँग मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको संक्षेपः

पछिल्लो समय बीमाको अवस्था र सर्वसाधारणको पहुँच कस्तो छ ?

नेपालमा दिनप्रतिदिन बीमा प्रति आम जनताको चासो र रुचि दिनप्रतिदिन बढ्दो छ । साथै यसको महत्वपनि धेरै छ । यसलाई तथ्यांकले पनि प्रमाणीत गरेको छ । पछिल्लो समय नयाँ १० बीमा कम्पनीहरुले पनि लाइसेन्स पाएपछि बैदेशीक रोजगारलाई हटाउँदा पनि २२ देखि २३ प्रतिशत बीमाको कारोबार वृद्दि भएको छ । बैदेशिक रोजगारीलाई पनि जोड्ने हो भने २७ प्रतिशत बीमाको कारोवार वृद्दि भएको छ । यो अङ्क राम्रो हो ।

कोरोनाको महामारीभन्दा पहिलाको अवस्था कस्तो थियो र कोरोना महामारी बढ्दै गर्दा बीमा बजार कस्तो छ ?

यसलाई दुबै तिरबाट हेर्नुपर्छ । कोरोना भाइरसको संक्रमणले बीमा बजार पनि अछुतो रहन त सक्दै सक्दैन । हामी पनि त्यही मार्केट र त्यही विश्वमा नै छौं । कोरोनाले विश्वभरको अर्थतन्त्रलाई नै असर पारेको अवस्थामा हामीलाई पनि असर गरेको छ ।
तर हामी जुन खालको विजनेसमा छौं । बीमा भनेको भवितव्य र महामारीहरुलाई नै बहन गर्ने क्षेत्र हो ।

लाइफ बीमालाई हेर्ने हो भने यसको पहिलो कुरा जीवनको सुरक्षा नै हो । दोस्रो कुरा भनेको बचत । भवितव्यलाई नै बीमा क्षेत्रले हेर्ने भएकोले विजनेसको वृद्धि राम्रै हिसावले भएको छ ।

पहिले मान्छेलाई बीमाको बारेमा बुझाउनु पथ्र्यो भने आज आफैं बुझिरहेका छन् । बीमाको विषयका सबैले बुझ्न पनि आवश्यक थियो । नेपालको सन्दर्भमा सिमीतले मात्रै बीमाको बारेमा बुझेका थिए ।

यसमा चुनौतीहरु पनि छन् । पहिले पोलिसी लिनेहरुलाई अब के हुने होला भन्ने चिन्ता छ । आफ्नो पोलिसीको सर्भिसिङका कुराहरु आइरहेका हुन्छन् । अर्थतन्त्र कस्तो हुन्छ ? एकातिर फाइदा छन् भने अर्काे तिर चुनौतिहरु पनि सँगै छन् ।

असार मसान्तसम्मको बीमा  कम्पनीहरुको वित्तिय विवरण हेर्दा राम्रो भएपनि कोरोना महामारीका दिनहरुमा कस्तो होला ?

हामी जुन विजनेसमा छौं, त्यो ग्रोथ नै हन्छ । कोरोनाको सिनारीयो सामान्य भएन भने प्रतिशतमा केही तलमाथी होला । पहिले नै बीमा गरेकाहरुको रिन्यु लगाएतका कुराले नै बीमा बजार कस्तो हुन्छ भनेर थाहा हुन्छ । आर्थिक क्रियाकलापहरु कस्तो हुन्छ त्यसले पनि बीमा क्षेत्रलाई प्रभाव पर्छ । हामीपछि आउने समय बीमा क्षेत्रका लागि राम्रो हुने देख्छौं ।

रिलायन्स लाइफ इन्स्योरेन्समा नै किन बीमितले बीमा गर्ने ?

रिलायन्स लाइफ इन्स्योरेन्स भनेको पब्लिक लिमिटेड कम्पनी हो । हाम्रो कम्पनीमा सुशासन छ । सबैभन्दा ठूलो कुरा भनेको सुशासन हो । हामीले माग अनुसारको ‘स्किम’ ल्याइरहेका हुन्छौं । हामीले सेवामा पनि विषेश ध्यान दिएका छौं । र, सेवालाई मध्यनजर गरेर लगानी गरीरहेका छौं ।

हाम्रो अहिलेसम्म एक सय वटा शाखाहरु छन् । हाम्रा सबै शाखामा वेल कनेक्टेड छन् । कोरोनाको महामारी आउनुभन्दा अघिदेखि नै हामी प्रविधिको उच्चतम प्रयोग गरेर काम गरिरहेका थियौं ।

हामी आर्थिक रुपमा पनि सवल हुँदै गइरहेका छौं । प्रिमियम संकलन लगायतका कुरामा बलियो हुँदै गइरहेका छौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी विश्वासीलो कम्पनीको रुपमा अगाडी बढिरहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ आउँदै छ । यसबाट लगानी कर्ताले कस्तो प्रतिफल पाउँछन् ?

सबैभन्दा पहिला लगानी कर्ताले संस्थासँग आवद्ध हुने अवसर पाउँछन् । लगानी कर्ताले पनि कस्तो संस्थासँग आवद्ध हुने भनेर विचार गर्नुपर्छ । शेयर लगानी कर्ताहरुलाई हामीले पनि स्वागत गर्ने अवसर पाउँछौं ।

लगानी कर्ताले यो संस्था मेरो लगानीको लागि उपयुक्त छ कि छैन भनेर बुझनु पर्यो । हाम्रो प्रगतिको तथ्यांक हेरेर पनि संस्थाको विश्लेषण गर्न सकिन्छ ।

१० वटा नयाँ लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्ये हामी पहिलो बीमा संस्थाका रुपमा आइपीओ जारी गर्दैछौं । हाम्रो आइपीओ भदौमा आउँदै छ ।

कोरोना महामारीको समयमा संस्थाको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

लकडाउनको सुरुमा हामीले घरबाटै काम गरेका थियौं । कोरोना बढ्दै गएको कारणले कार्यालयमा थोरै कर्मचारी आएर काम गरिरहेका छन् । हामीले प्रत्येक शाखामा भौतिक दुरी कायम गरेर नै काम गरिरहेका छौं । हामीले पहिले देखि नै प्रविधिको प्रयोग गरेर काम गरेकाले केही सहज छ । हामी कोरोना भाइरसबाट सुरक्षित रहेर सेवाहरु प्रदान गरिरहेका छौं ।

बीमितले रिलायन्स लाइफ इन्स्योरेन्समा वीमा गर्दा बोनस कति पाउँछन् ?

हामीले बोनसको विषयमा प्रष्ट पारेका छौं । २ वर्षको बीमा गर्दा बोनस यति पाउने भनेर तोकेका नै छौं । पोलिसी अनुसार बोनस पनि फरक हुन्छ । ३५ देखि ७० प्रतिशतसम्म बोनस सुविधा हाम्रो कम्पनीमा छ ।

पुरानो बीमा कम्पनीहरुको तुलनामा नयाँ बीमा कम्पनीको बोनस थोरै छ भन्छन, हो ?

बीमितले दिने प्रिमियम रकम कति छ, त्यो पनि हेर्नुपर्छ । प्रोडक्ट अनुसार बोनस दर फरक–फरक हुन्छ । बोनस भनेको बीमितले तिर्ने प्रिमियमको आधारमा पनि तय हुन्छ । समग्रमा हेर्दा रिलायन्स लाइफ इन्स्योरेन्स र पुराना बीमा कम्पनीहरुको बोनसमा कुनै भिन्नता छैन ।

पछिल्लो समय बीमा कम्पनीहरु बिच अस्वस्थ प्रतिष्पर्धा बढिरहेको छ ? यसलाई रोक्न के गर्नुपर्छ ?

व्यवसायीक प्रतिष्पर्धा जहिले पनि चाहिन्छ । यसले कम्पनी र बीमित दुबैलाई राम्रो गर्छ । यसलाई जहिले पनि खुल्ला नै राख्नुपर्छ । राम्रो धेरै हुँदा नराम्रो पनि केही मात्रामा होला ।

सबैभन्दा पहिले संस्थाले नै हेर्ने हो । संस्थाले संस्थालाई नै प्रश्न गर्ने हो । १९ वटा लाइफ बीमा कम्पनीमा आफुलाई राख्दा सेवामा फरक के, प्रोडक्टमा फरक के, ब्राण्डको फरक के र रिटर्नको फरक के भनेर प्रष्ट हुनुपर्छ ।

अरुलाई हेरेर अगाडी बढ्नु भन्दा पनि आफुलाई के बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । समग्र बजारमा आफु कहाँ छौं भनेर हेर्ने हो भने आफ्नो अवस्था थाहा हुन्छ ।

संस्थाले एउटा लेबलमा प्रिमियर संकलन गर्यो भने हामी आँखा चिम्लिएर बस्दैनौ । प्रिमियम सँगसँगै प्रोडक्ट, सेवा र प्रविधि लगायतका कुरालाई सुधार गर्दै जानुपर्छ । विश्वमा आएका परिवर्तनहरुलाई हामीले पनि आत्मसाथ गर्दै अगाडी बढ्नु पर्छ । यी सबै कुरालाई ध्यानमा राखेर रिलायन्स ब्राण्डलाई स्थापित गरिरहेका छौं ।

अरुको पछाडीभन्दा पनि आफ्नो संस्थालाई कसरी बलियो बनाउने भनेर काम गर्नु नै संस्थाका लागि राम्रो हुन्छ ।

मार्केटमा बीमा पोलिसी पुरानो भयो भन्छन्, रिलायन्सको पनि पोलिसी चेन्ज गर्ने बेला भएको हो ?

हामी पोलिसी त चेन्ज गरिरहेका हुन्छौं । समय अनुसार नयाँ आएका पोलिसीहरु पनि आइरहेका छन् । १० वटा प्रोडक्टहरु लिएर हामी अगाडी बढिरहेका छौं ।

हामीसँग भएका पोलिसीहरुलाई रोकेर नै चेन्ज गर्नुपर्ने देख्दैनौ । नयाँ प्रोडक्ट भनेको त मार्केट र व्यक्तिहरुका लागि आवश्यक्ता अनुसार चाहिन्छ । हामीले नयाँ प्रोडक्ट हरुपनि ल्याइरहेका पनि छौं ।

पछिल्लो समय बीमा सहर केन्द्रीत भए, गाउँगाउँमा कसरी पुर्याउने ?

सबैभन्दा ठूलो कुरा भनेको जनचेतना नै हो । बजारमा सबैलाई बीमाको बारेमा बुझाउनु पर्छ । आम जनताले विस्तारै बुझ्दै गइरहेका छन् । बीमा कम्पनीहरु सहर केन्द्रीत मात्रै भएको भए विजनेस ग्रोथ हुँदैन थियो ।

कोरोनाको कारणले दुरी कायम गर्ने, भिडभाड नगर्ने लगायतका कुरा पनि छन् । अब प्रविधिलाई नै अगाडी बढाएर बीमाको बारेमा सबैलाई बुझाउने पर्छ । अब शाखा मात्रै खोल्नेभन्दा पनि शाखासँग प्रविधिलाई पनि अगाडी लानुपर्छ ।
प्रविधिलाई अगाडी लग्दा सस्तो पनि पर्छ । बीमाको बारेमा बुझाउन सजिलो पनि हुन्छ ।

बीमा किन गर्ने ? यसको महत्व के छ ?

बीमा रिक्सलाई कभर गर्नका लागि गर्ने हो । घरको परिवारमा आयआर्जन गरेर परिवारको सदस्यहरुलाई गुणस्तरीय जिवनयापन गराएका व्यक्तिहरुको नै बीमा गर्ने हो । कमाउने मान्छेलाई केही भएमा त्यसको परिपुर्ति बीमाले गर्छ ।

कमाएर घरपरिवार सञ्चालन गरिरहेको मान्छेलाई भविष्यमा केही भइहालेमा परिवार चलाउन बीमाले सहयोग गर्छ । बीमाले मानिसलाई फोर्सफुल्ली भएपनि सेभ गर्न सिकाउँछ । नेपालको केसमा बीमालाई सेभको रुपमा पनि लिन थालेका छन् ।
बीमा गर्दा मेरो वार्षिक यति रकम बीमाका लागि तिर्नुपर्छ भनेर जम्मा गर्ने बानीको पनि विकास हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *