सभापति देउवाले प्रधानमन्त्रीलाई सोधे– आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेनाले निम्त्याएकाे चुनाैति, सिन्धुपाल्चाेक बाढी लगायतका विषयमा कुरा उठाएका छन् ।
प्रम ओलीसँगकाे छलफलमा सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको भन्दै यसतर्फ सरकारकाे ध्यानाकर्षण समेत गराएका छन् । उनले भनेका छन्–‘बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?’
त्यस्तै सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको र कयौं बेपत्ता भएका विषयमा पनि प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् । ‘गाउँबासीले दश दिनअघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ? ’, उनले प्रश्न समेत गरे ।
देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेकाे उल्लेख गर्दै उनले सरकारकाे भूमिका सन्ताेषजनक नदेखिएकाे बताए । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न उनले आग्रह समेत गरेका छन् ।
काेराेनाकाे चुनाैति सामना गर्नसक्ने ढंगले कार्य गर्न सक्ने सामर्थ्य पनि सरकारसँग नदेखिएकाे उनले टिप्पणी गरे । प्रमसँग प्रश्न गर्दै उनले साेधे– ‘कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?’
छलफलका क्रममा त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेकाे भन्दै उनले निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएकाे टिप्पणी गरे । ‘प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुरदेखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु,’ सभापति देउवाले भने ।
सभापति देउवाले आफूले उठाएका सबै विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा सभापतिका साथमा केन्द्रीय सदस्य रमेश लेखक सरिक थिए ।
छफलफलमा प्रधानमन्त्री ओलीले कतिपय संवैधानिक नियुक्तिहरुबारे सभापति देउवासँग परामर्श गरेका थिए ।









