व्यवसायीको ‘नाफा’ ट्रिकः भाडामा कडा, मापदण्डमा अनेक बखेडा !

काठमाडौं । केही दिनअघि कार्यालय जाँदै गर्दा एउटी टेम्पाे चालक दिदीसँग झगडा पर्यो । शारीरिक होइन मौखिक रुपमा । विषय थियो– ‘भाडा’ ।

आफू बसेको ठाउँबाट कार्यालय पुगिने साधन टेम्पाे र माइक्रो मात्रै हो । टेम्पाे चढ्न ५ मिनेट हिँडे पुग्छ भने माइक्रो चढ्न २० मिनेट हिँड्नुपर्छ । हतारका बेला १५ मिनेट हिँडाईमा किन खर्चनु भन्दै टेम्पाे रोजिन्छ ।

सदाझैँ त्यसदिन पनि रोजाइँमा टेम्पो नै पर्यो । चढ्ने बेला न उनले सेनिटाइजर हातमा तुर्काइन्, न मैले नै मागेँ । ६ जना चढ्ने टेम्पोमा यात्रु पनि ६ जना नै थिए, खचाखच । नचढौँ पनि भएको छैन, हिँडेर जान डेढ घण्टा लाग्छ । स्वास्थ्य मन्त्रालयको (भौतिक दुरी, मास्क, सेनिटाइजर) सुझाव सम्झँदै अनेकन त्राससँगै चढियो र लागियो गन्तव्यतिर ।

जाँदाजाँदै ठाउँठाउँमा ओर्लिएरै सबै यात्रु सकिए, मात्र म बाँकी रहेँ । ‘तपाईँ यहीँ झर्नुस्, म टेम्पो फर्काउँछु’– मतिर फर्कँदै चालिकाले भनिन् । ‘दिदी मलाई अलि हतार छ, माथिसम्मै पुर्याइदिनुस् न है’ विनम्रतापूर्वक अनुरोध गरेँ मैले ।

‘यहाँबाट कटेपछि वान वे छ के, यहीँ झर्नुस्’– उनी आक्रोशित सुनिइन् ।

उनको झर्कोफर्को देखेर झनक्क रिस उठ्यो । ‘माथिसम्मकै भाडा तिरेकी छु, कि त यहाँसम्मको मात्रै कटाउनुस् होइन भने म झर्दिन । गन्तव्यमै पुर्याइदिनुस्’, भाडा गन्तव्यसम्मको तिरिसकेको छु भन्दै मैले आफ्नै अडान कसेँ ।

आक्रोश पोख्दै फुनफुनिएर अघि बढिन्, भाडा पनि थप्न भनिन्–‘तपाईँलाई थाहा छैन ५० प्रतिशतले भाडा बढेको ? कोरोनाको यो महामारीमा पनि जोखिम मोलेर यात्रुलाई सेवा दिइरहेका छौँ, यहाँसम्मको ३० हो, अब ५ रुपैयाँ थप्नुस् । भाडा तिर्न कन्जुस्याइँ गर्ने मान्छे त हिँडेर आउनु नि बरु, किन चढ्नु टेम्पो ?’

मेरो विनम्रतामा उनको यत्रो आक्रोश ? झनै रिस उठ्यो–‘दिनहुँ यही बाटो २५ रुपैयाँमा ओहोर–दोहोर गर्छु म । यस्तो महामारीका समय पनि यात्रुसँग ठग्न खोज्ने ? तपाईँले अरुको सेवाका लागि होइन आफ्नो आम्दानीका लागि टेम्पो चलाउनु भएको हो, सेवाका लागि हुन्थ्यो भने त निःशुल्क चढाइहाल्नु हुन्थ्यो नि ।’

यति वाक्य टुंगाएर मैले थप ५ रुपैयाँ दिएँ, रपनि झर्ने बेला समेत गाली रोकिएन उनको । उनको टेम्पो स्पीडको गालीलाई ब्रेक लगाउँदै मैले पुनः आक्रोश पोखेँ–‘तपाईँले सरकारले तोकेको सार्वजनिक यातायात सम्बन्धी स्वास्थ्य मापदण्ड पुरा गर्नुभएको छ र भाडा बढी लिन ?’ बल्ल मुख बन्द भो उनको !

त्यहाँबाट उनको र मेरो बाटो छुट्टिएपनि मनमा भने अनेक तर्क–वितर्क जोडियो । उनी पनि महिला, म पनि महिला । लकडाउन खुलेसँगै सार्वजनिक यातायातमा कयौँ पटक ओहोरदोहोर गरियो । पुरुष चालकले कहिल्यै यसरी बाझेनन् ।

पुरुष र केही जिम्मेवार महिला चालकले २५ लिएकै कारण ती दिदीलाई पनि मैले त्यति नै भाडा दिएकी हुँ । कोही कसैले ३०/३५ रुपैयाँ माग्थे, यसअघि २५ मा ओहोरदोहोर गरेको सम्झाएपछि चुप हुन्थे । नियतै ठगी गर्ने भएकाहरुले भने हठी गरेरै ३० रुपैयाँ लिन्थे, ती दिदीले जस्तैगरी ।

त्यो दिनै खराब लाग्यो । विनम्रतापूर्वक आफ्नो कुरा राख्दा ममाथि किन आक्रोश ? उनी आफैँ स्वास्थ्य मापदण्ड पुरा नगर्ने । यात्रु–यात्रुबीच भौतिक दुरी नराख्ने । सेनिटाइजर न आफू प्रयोग गर्ने, न यात्रुलाई दिने । यस्तो अवस्थामा उनले प्रत्येक खेपमा टेम्पो सेनिटाइज गर्लिन् भन्ने त नसोचे पनि भो !

कतिले ‘जाबो ५ रुपैयाँमा पनि कस्तो मन दुखाएको होला’ भनेर सोच्नुहोला । कुरा पैसाको होइन, गैरजिम्मेवारको हो । लकडाउनअघि ४० रुपैयाँमा आउजाउ हुन्थ्यो भने अहिले ६० रुपैयाँ तिनुपर्छ, २० रुपैयाँ त महंगो हो नि । दुई छाक तरकारी किन्नुको सट्टा एक छाक किनौँला बरू ! गनथन किन गर्नु यतिमा ?  मेरो गुनासो पैसामा हुँदै होइन, यसमा हो कि ‘नागरिकले जिम्मेवार भएर तोकिएको भाडा तिर्दा पनि चालकले सुरक्षित यात्रा गराएनन् !’

उनी त एक उदाहरण मात्रै हुन्, प्रायः सबै चालकले यस्तै बट्ठाइँ गरेका छन् । यसअघि पनि मैले धेरै टेम्पो र बसमा कोरोना महामारीको जोखिम न्युनिकरणमा उनीहरुको भूमिका तथा जिम्मेवारी सम्झाएकी थिएँ । अधिकांशले एउटै किसिमको झुट बोले–‘भर्खरै सकियो सेनिटाइजर । आज मात्रै हो धेरै यात्रु हालेको, लगायत ।’

खाली बोतल देखायो । भर्खरै सकियो सेनिटाइजर भन्यो । नागरिक र ट्राफिकका आँखामा छारो हाल्यो । मनलाग्दी भाडा असुल्यो । दिनहुँ यात्रु कोच्यो । अनि सोधीखोजी गर्दा ‘आज मात्रै हो धेरै यात्रु हालेको’ भन्यो । दुई/चारवटा गफ ठोक्यो, टार्यो ।

अनि भाडा असुल्ने बेलामा चाहीँ अनेकन बखेडा झिक्यो, लुट्यो । मापदण्डको आडमा नाफा कमाउने कस्तो मज्जाको ट्रिक ! नागरिकको जीवनसँग कस्तो खेलाँची ? सर्वसाधारण नागरिक जतिबेला, जोसँग पनि लुटिनै पर्ने ? ठगिनै पर्ने ?

किराना र तरकारी पसलमा पनि लुटिनै परेको छ, मनलाग्दी भाउ बढाएका छन् । महंगी जति नै बढेपनि व्यापारीलाई घाटा हुने होइन, झन् बढी नाफा लिन्छन् । नकिनौँ पनि भएको छैन, खानैपर्यो । विद्यालयले अनलाईन कक्षाको बहानामा शुल्क असुलेकै छन् । न त नेता/मन्त्रीले नै भ्रष्टाचार गर्न छोडेका छन् ।

मापदण्डका अनेकन नियम, कानून पनि सर्वसाधारणकै थाप्लोमा थुपारिएको छ । नागरिकलाई चाडबाडमा जमघट नगर्न, भीडभाड नगर्न सम्झाउने बुद्धिजीवीहरु नै समर्थन र विराेध प्रदर्शनमा उत्रिन्छन् । उनीहरु नै गर्छन् जमघट । पावरका आडमा निर्वाध रुपमा विना सवारी पास विभिन्न जिल्ला आउजाउ गरिरहन्छन् । नागरिकलाई भने जे मा पनि बन्देज !

पावरकै आडमा हप्तैपिच्छे कोरोना परीक्षण गराउँछन्, राज्यको ढुकुटी रित्याउँछन् । रिपोर्ट पनि उनीहरुकै छिटो आउँछ, सर्वसाधारणको हप्तौँ लाग्छ । सामाजिक अभियन्ता भनिएकाहरु राहत बाँड्ने नाममा विदेशमा रहेका नेपालीको पसिनामा मस्ती गरिरहेछन् !

साँच्चै गरिब तथा मजदुरका लागि अनिकाल र अकाल मृत्यु बनेर आएको कोरोना व्यापारी र भ्रष्टाचारीलाई भने लुटिखाने भाँडो बनेको छ । चौतर्फी मारमा परेका सर्वसाधारणकै थाप्लोमा परेको छ कोरोनाको भार पनि ! व्यापारी पोस्ने सरकार भएपछि सहनै पर्ने रहेछ ! अनि कि नागरिक मात्रै जिम्मेवार बनेर पार लाग्ला त कोरोना ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *