राज्यले त गरेन तर, हामी नागरीकले पनि दायित्व पुरा गर्दैछौं र ?

कोभिड–१९ ले विश्व आक्रान्त भएको बेला सरकारले नागरिकको जीवन रक्षाका लागि केही गरेन भनेर चौतर्फि आलोचना भइरहेको छ । कोरोना भाइरस रोकथाम नियन्त्रण र संक्रमितको उपचारमा सरकार लापरवाही भयो, कोरोना स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरीयो, आइसोलेसन, भेन्टिलेटर तथा क्वारेन्टाइन निर्माणमा करोडौं हैन अरबौं भ्रष्टाचार भयो भनेर चौतर्फि विरोध भइरहेको छ ।

नागरिक समाज, राजनीतिक दल, प्रमुख प्रतिपक्षले समेत सरकारको आलोचना गरिरहँदा कतै सरकारले गल्ती गरेकै पो होकी ? भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि हैन । फेरी सरकारका कतिपय मन्त्री, स्थानीय निकायहरुको कार्यशैलीका कारण पनि सरकार प्रति प्रश्न उठेको हो । भारत र अन्य मुलुकबाट आउने नेपालीको व्यवस्थापनमा सरकारको ढिलासुस्ती, लापरवाही प्रति प्रश्न उठ्नु जायज नै थियो । लामो समयको लकडाउनमा गरिब तथा ज्यालादारी नागरिक भोकभोकै तड्पिइरहँदा राज्यले एक मुठी चामल समेत नदिँदा जनताले गाली गर्नु अस्वभाविक पनि थिएन ।

जनताले प्रश्न गरे, आलोचना गरे, विरोध गरे भनेर सरकारले नाक खुम्च्याउनु चैं असुहाउँदिलो थियो । प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले पटक–पटक टेलिभिजनबाट कोरोना नियन्त्रणमा भ्रष्टाचार भएको छैन, लापरवाही भएको छैन भनेर भाषणबाजी गर्नैपर्ने परिस्थिति बन्नुु चैं लज्जास्पद नै हो । भोलीका दिनमा सत्तामा बस्नेसँग जनताले उत्तर खोज्ने नै छन् । र, उनीहरुले जवाफ नदिइरहन पनि सक्दैनन् ।

ठिक छ सरकारले गरेन । गर्न सकेन । तर, हामी नागरीकले पनि आफ्नो दायित्व निर्वाह गर्यौं र ? प्रश्न त हामीप्रति पनि उठिरहेको छनी !

सरकारले चैत्र ११ गतेदेखि लगातार झण्डै चार महिना लकडाउन गर्यो । शुरुवाती एक महिना लकडाउन पूर्णरुपमा पालना भयो । हामीहरु घरको छतमा बसेर सडकमा हेर्न समेत डरायौं । कोरोना आउला कि भनेर झ्यालका पर्दा बन्द गर्यौं, मिचिमिची हात धोयौं । सेनिटाइजर, मास्कको अभाव भयो, यसैविच कालोबजारी गर्नेहरुले पनि कमाउने मौका पाए । नेपाल ग्रीन जोनमा धेरै समय रह्यो ।

तर, जव कोरोना महामारीले दक्षिण एशियाली देशहरुलाई गाँज्दै लग्यो, अब कोरोना भाइरसले नेपालमा प्रवेश गर्यो हामीहरुले लकडाउन कत्तिको पालना गर्यौं त ? लकडाउन खुकुलो हुँदै गर्दा हामीले आफ्नो स्वास्थ्यको सुरक्षाका लागि मात्रै भएपनि कत्ति सचेत भयौं त ? गम्भिर त हामी पनि हुनुपर्छ नी !

सरकारले पटक–पटक लकडाउनको उलंघन नगरौं, सावधानी अपनाउँ भनेर आग्रह गर्दा कतिपय युवाहरु चिउँडोमा मास्क लगाएर निस्किएकाे हैन र ? सामाजिक दुरी कायम गरौं, कोरोनाको मूल औषधी भनेकै सामाजिक दुरी कायम गर्ने हो भनेर गाउँटोलमा स्थानीय निकायले सचेतना फैलाइरहँदा एककानले सुनेर अर्को कानले उठाएको पनि त होनी !

यदी हामी नागरिकले पनि आ–आफ्नो स्थानबाट सरकारले लागू गरेका नियम पालना गरेको भए आज कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने थिएन कि ! अहिले दैनिक हज्जारौं स्वाब टेष्ट भइरहँदा दैनिक तीन सय बढि कोरोना संक्रमितको हिस्टोरी हेर्ने हो भने ट्राभल हिस्ट्री नभएकाहरु पनि कोरोना संक्रमित भइरहेका छन् । कतिपय स्थानीय निकायले अब मास टेस्टिङ गर्न सक्दैनौं भन्न थालि सके । यो भनेको जटिल परिस्थिति हो ।

स्थानीय तहमा मास टेस्टिङ नगरीकन कोरोना संक्रमित पहिल्याउन गाह्रो छ । कतिपय केसहरु लक्षण विना नै देखिएकाले पनि हाम्रो जस्तो सामाजिक, आर्थिक तथा सांस्कृतिक परीवेश भएको मुलुकमा एक दुई जनालाई क्वारेन्टाइनमा राख्दैमा, उनीहरुको उपचार गर्दैमा कोरोना हराउँदैन । समुदाय केन्द्रीत मास टेस्टिङ अपरिहार्य छ ।

हामीलाई थाहा हुनुपर्छ रोग लाग्नु भन्दा लाग्न नदिनु बुद्धिमानी हो । कोरोना भाइरसको अहिले सम्म औषधी र खोप समेत पत्ता लागी नसकेको अवस्थामा यसबाट बच्ने एउटै अष्त्र हो सामाजिक दुरी । र, आम जनताले सामाजिक दुरी कायम नगरेसम्म यसबाट सजिलै मुक्ति पाइन्छ भनेर कल्पना नगरौं । हो, कोरोना लाग्ने वित्तिकै मृत्यु हुँदैन । तर, तपाई हामी कुनै गम्भिर रोगसँग लडिरहेका छौं । हाम्रो रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर छ भने कोरोनाको संक्रमण घातक हो ।

तसर्थ, सरकारले गरेन, सरकारले हेरेन भनेर गाली गरिरहनु भन्दा आफु पनि सुरक्षित रहने उपाय अपनाउने होकि ? हामीले पनि हाम्रो आनीबानीलाई सुधार्ने होकि ? हामीले पनि हाम्रो दैनिकीलाई परिवर्तन गर्ने होकि ? कसलाई थाहा छ भोलीका दिनमा हामीले हाम्रो दैनिकीलाई कोरोनासँगै व्यतित गर्नुपर्ने हो । त्यसकारण अहिलेको लागि सामाजिक दुरी कायम गरौं, सचेत रहौं, सतर्क बसौं ।

सिआर बस्नेत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *