गोंगबु विभत्स हत्याकाण्डः अभियुक्त सार्वजनिक, यसरी भएको थियो हत्या र शव व्यवस्थापन

काठमाडौं । आइतबार टोखा नगरपालिका–१० स्थित गोंगबु गणेश स्थान नजिकैका छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला पर्यो ।
२४ घण्टा बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेन । त्यसपछि मृतकको तस्विर सार्वजनिक गरियो । तस्विर सार्वजनिक गरेपछि मृतकका मामाले उनको सनाखत गरे । पहिचान खुल्यो– दाङका कृष्णबहादुर बोहरा ।
पहिचान खुल्नेबित्तिकै प्रहरीले साेही दिन चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) आज (मंगलबार) सार्वजनिक गरेकाे छ । उनले आफूले हत्या गरेको पनि स्वीकार गरिसकेकी छिन् ।
किन, कसरी भयाे हत्या ?
प्रहरीका अनुसार सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्दै आएका मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।
शव फेला परेकाे अघिल्लाे दिन ती पुरूष अब दुई–तीन दिन आउँदिन भन्दै गेष्ट हाउसबाट बिदा भएका थिए । त्यसपछि उनी सम्पर्कविहिन भए । भाेलिपल्ट दिउँसाे उनकाे शवका टुक्रा सुटकेस र जेब्रा झाेलामा भेटियाे । त्यसपछि प्रहरीले फाेटाे सार्वजनिक गर्दै अनुसन्धान जारी राख्याे र यसै क्रममा चितवनबाट कल्पना पक्राउ परिन् ।
उनले प्रहरीसामू अपराध स्वीकार गर्दै उनले आफूमाथि बारम्बार याैन शाेषण भएपछि सहन नसकी हत्या गरेकाे बताएकी छिन् । उनले प्रहरीकाे बयानमा भनेकी छिन्–‘म माथि पटक पटक यौन हिंसा भयाे । सहन सकिनँ त्यसदिन । सुरूमा नसालु चक्की खुवाएर बेहाेस बनाएँ । त्यसपछि अण्डकोषमा हानेँ, खुकुुरीले घाँटी र खुुट्टा काटेर सुटकेश र झाेलामा प्याक गरी सडकमा फालिदिएँ ।’
प्रहरीले आइतबार दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा नव ज्योतिमार्ग स्थित रहेकाे साढे तीन तले हरियो घरमा हत्या भएको पत्ता लगाएपछि हत्यारा नजिक पुगेकाे हाे । प्रहरीले त्यस घरमा रगत लगायत हत्यामा प्रयोग भएका सामान बरामद गरेकाे थियाे ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै कल्पनाकी छाेरीलाई पनि नियन्त्रणमा लिएकाे थियाे । उनकी छोरी हत्यापछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । मृतक कृष्णबहादुर र हत्यारा कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको पनि प्रहरी अनुसन्धानमा खुलेकाे छ ।








