साउनको दोस्रो सोमबार डोलेश्वरमा श्रद्वालुको घुइँचो (तस्बिरहरू)

भक्तपुर । ढोला शिखर पर्वत शृङ्खलाको काखमा अवस्थित डोलेश्वर महादेव भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको प्राचीन एवं ऐतिहासिक शिवालय हो।
साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड मन्दिरमा देखिएको छ। भगवान् शिवप्रति आस्था राख्ने भक्तजनहरू पूजा–आराधना, जलाभिषेक र दर्शनका लागि लामबद्ध भएका छन्।
प्राचीनकालदेखि ‘डोलेश्वर महादेव’का नामले परिचित यस तीर्थस्थललाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनेर चिनिन्छ। मल्लकालीन राजा भूपतीन्द्र मल्लले मन्दिर परिसरमा स्थापना गराएको शिलालेखले यस नामको ऐतिहासिक प्रमाण प्रस्तुत गर्छ।
हिन्दु पौराणिक ग्रन्थ हिमवतखण्डमा यहाँका शिवलाई ‘विमलेश्वर महादेव’ का रूपमा उल्लेख गरिएको छ। पाण्डवहरूले समेत वनवासका क्रममा यहाँ आई भगवान् शिवको दर्शन तथा पूजा गरेको जनविश्वास रहिआएको छ। डोलेश्वर महादेवलाई भारतको प्रसिद्ध तीर्थ श्री केदारनाथको शिर भागका रूपमा पनि श्रद्धापूर्वक पूजा गरिन्छ।
यही धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण साउन महिना, विशेषगरी सोमबारका दिन यहाँ देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।
तस्बिरहरू:









