चन्द्रागिरिमा ‘मास्क खै’ अभियान, नलगाउनेलाई जरिवाना !

- राेशन दानी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाे अवस्थामा पनि मानिसहरूले मास्कको प्रयोग गर्न छाेडेपछि चन्द्रागिरिको सतुङ्गलमा निःशुल्क मास्क वितरण थालिएको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्वु, समुदाय प्रहरी साझेदारी वडा समिति ११ सतुङ्गल तथा ट्राफिक भोलेन्टिएरले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निःशुल्क मास्क वितरण गरेका हुन् ।
नगरका सतुङ्गल बजार, विष्णुदेवी, खरिबोट, सिप्रदी बालकुमारी, बलम्वु क्षेत्रमा समेत मास्क नलगाइ पैदल यात्रा गर्ने र बजार सञ्चालकलाई निःशुल्क मास्क वितरण गरिएको समुदाय प्रहरी साझेदारी वडा ११ वडा संयोजक हरिभक्त महर्जनले बताए ।

नगरभित्र झण्डै ३ हजार थान बढी निःशुल्क मास्क वितरण गरिसकिएको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख खेमराज राउतले बताए । ‘मास्क नलगाउनेलाई कारबाही समेत थालेका छौं’, उनले भने ।
कोभिड–१९ विरुद्ध जनचेतना बढाउन अनिवार्य रूपमा मास्क लगाउ,सामाजिक दुरी कायम गरौं, जथाभावी नहिडौँ, जोरविजोर प्रणाली अनुसार यात्रा गरौँ लगायत लेखिएका प्लेकार्ड सहितकाे र्याली विभिन्न स्थान परिक्रमा गरेकाे थियाे ।
उता नगरमा मास्क नलगाई लखरलखर डुल्नेलाई कारबाही थालिएको छ । महानगरीय प्रहरी बृत्त थानकोटले मास्कविना नै बजार र समुदायमा डुल्नेलाई एक पटकका लागि १ सय रुपैयाँ जरिवाना गर्न थालिएको थानकोट प्रहरी नायव उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले बताए ।

प्रहरीले चन्द्रागिरिमा ‘खै मास्क ?’ अभियान नै चलाउने भएको छ । थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पास विना उपत्यका प्रवेश गर्ने विभिन्न निजि तथा भाडाका सवारीसाधन चालकलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने गरेको छ । हालसम्म २८ वटा सवारीसाधनका चालकहरूलाई महानगरीय प्रहरी बृत्त थानकोटले कारवाही गरिसकेको र यो अभियानलाई निरन्तरता दिने डिएसपी श्रेष्ठले बताए ।








