प्रदेश १ सरकारले काेराेना परीक्षणकाे दायरा बढाउने

विराटनगर । प्रदेश १ सरकारले काेराेना भाइरस (काेभिड १९) आरटी पीसीआर परीक्षणकाे दायरा बढाउने भएकाे छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमणकाे परीक्षण दायरा बढाउने निर्णय गरेकाे हाे ।
साथै बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारण नागरिक, कर्मचारी तथा कामदार कार्यालय, उद्योग धन्दा व्यापार व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्यस्थलमा पालना गर्नुपर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धि मापदण्डलाई एकिकृत गरि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य मापदण्ड जारी गर्ने निर्णय पनि गरेको छ ।
मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानून बमोजिम कारवाही गरिने बैठकको निर्णय छ ।
कोशी कोभिड अस्पतालको हालको शैया विस्तार गरिने र आईसोलेसन केन्द्रहरुको विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् ।
बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव कोमलबहादुर थापा, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।








