देशकै ठूलो क्वारेन्टाइनमा बसेका संक्रमितको गुनासो- ‘गाईगोठ जस्तो भयो’

काठमाडौं । पब्लिक हेल्थ इग्ल्याण्डले भनेको छ, क्वारेन्टाइनको मतबल आफूलाई बाँकी विश्व वा व्यक्तिबाट बाहिर राख्नु हो भनेर ।

यसका साथै क्वारेन्टाइनमा बस्दा शौचालय र बाथरुम पनि छुट्टै नै प्रयोग गर्नुपर्छ भन्ने वैज्ञानिक मान्यताहरु स्थापित हुँदै आएका छन् ।

तर राजविराजको सप्तरीस्थित कृष्णा क्वारेन्टाइनको हालत भने अलिक फरक छ । सरकारले देशकै ठूलो क्वारेन्टाइनको रुपमा स्थापित गर्दै गर्दा र दावी गर्दै गर्दा क्वारेन्टाइनको अवस्था त्यस्तो हुनुले भने देशकै लागि विडम्बना हो ।

क्वारेन्टाइनको बारेमा सोध्दा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले क्वारेन्टाइन व्यवस्थापनको काम नगरपालिकाको नभएको प्रतिक्रिया दिन्छन् ।

‘क्वारेन्टाइन गोठजस्तो लाग्छ’
कोरोना भाइरस (कोभिड १९) रिपोर्ट पोजेटिभ देखिएपछि केही दिनअगाडि मात्रै त्यहाँ पुगेका सप्तरीका एक संक्रमितले उक्त क्वारेन्टाइन आफूलाई गाई गोठजस्तो लाग्ने बताए ।

“खाना पनि समयमा खान पाइदैँन । बिहान दुई पीस बिस्कुट दिन्छन् । अनि भात पनि १२/१ बजेसम्म पनि ल्याउँदैनन् । एउटै कोठामा २० देखि ३० जनासम्म राखेको छ ।” क्वारेन्टाइनमा बसेका उनले मकालु खबरसँगको कुराकानीका क्रममा भने, ‘सामाजिक दूरी पनि छैन । खाना दिँदा पनि संक्रमितले नै दिन्छन् ।’

सप्तरीको क्वारेन्टाइनको हालत। तस्वीरः मकालु खबर।

यस्तै उनले उक्त क्वारेन्टाइनमा बिरामी निको भएर फर्कनुको साटो सन्चो चाहिँ बिसन्चो भएर फर्किनुपर्ने अवस्था भएको औंलाए ।

उनले थपेका छन्, ‘यहाँ त सन्चो नै बिसन्चो भएर फर्कनुपर्ने अवस्था छ । चेकअप पनि १ महिना डेढ महिनामा हुन्छ । खानामा पनि दाल भातबाहेक केही दिँदैनन् । खाना हेर्दै पनि घिन लागेर आउँछ । अनि हामीले नजिकैबाट झिकाएर खान्छौं । अरुको त घर टाढा छ विचरा ! त्यस्तै खान्छन् ।’

सप्तरीको क्वारेन्टाइनको हालत। तस्वीरः मकालु खबर।

यस्तै उनले आफूलाई शुरुमा पुग्दा नराम्रो व्यवहार गरेको पनि सुनाए । उनलाई सुत्नको लागि ओछ्यान र ओढ्ने सिरक उतैबाट फालिदिएको र आफूले फोहोर रहेछ भनेर भन्दा उल्टै हकारेको सुनाए ।

‘शुरुमा आउँदा राम्रो व्यवहार पनि भएन । कपडाहरु त्यसरी फालिदिए । फोहोर रहेछ भन्दा पनि झनै हकारे । यस्तो भन्न थाहा पाएको भए त आउँदिनथें ।’

‘विना ढोकाको महिला शौचालय’
क्वारेन्टाइन क्षेत्रमा रहेका शौचालयको अवस्था हेर्ने हो भने पनि बसिसाध्य छैन । शौच गर्ने प्लेट पहेलो पानीले ठ्याम्मै भरिनु, शौचालयको छेउछाउमा नाक भाँचिनेगरी गन्हाउनु, सबै संक्रमितहरुले एकै ठाउँमा शौच गर्नु त त्यहाँको विशेषताजस्तै हो ।

यत्तिसम्म त ठीकै नै थियो, तर महिला शौचालयको ढोकासम्म नहुँदा दिसा–पिसाब च्यापेरै बिरामी हुने अवस्था हुने पनि त्यहाँ बसेका महिला संक्रमितहरुले बताउने गरेका त्यहाँका स्थानीय मोहम्मद झकुउल्लाले हामीलाई बताए ।

विनाढोकाको महिला शौचालय। तस्वीरः मकालु खबर।

उनले सुनाए, “त्यहाँ त बसिसाध्य छैन । सबै शौचालयहरु पानी भरिएका छन् । त्यहाँ त शौच गर्नु त कहाँ हो कहाँ हो, टेक्नसम्म पनि कठिन हुन्छ ।”

उनले हामीलाई त्यहाँ आइसोलेट हुनेहरुको अवस्था त्यहाँको वातावरणकै कारणले पनि बिग्रिनेसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

‘क्वारेन्टाइन नगरपालिकाको होइन’
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले क्वारेन्टाइन नगरपालिकाको नभएको प्रतिक्रिया दिए ।

त्यहाँका क्षेत्रको नागरिकहरुको पहरेदारका रुपमा चुनिएका मेयर शम्भुप्रसाद यादवले भने, “आइसोलेशन नगरपालिकाको होइन । त्यसको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनाको हो र त्यहाँको भित्री कुराहरुको व्यवस्था मिलाउने काम अस्पताल प्रशासनको हो ।”

क्वारेन्टाइन स्थलको शौचालय। तस्वीरः मकालु खबर।

यस्तै उनले आफूले क्वारेन्टाइनको अवस्था सुधार्नको लागि सक्दो काम गरिरहेको बताए । ‘बिहान यहीबारेमा कुराकानी भयो । सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञहरुसँग बसेका थियौं । उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै अब छिट्टै प्रयास गर्नेछौं । यद्यपि क्वारेन्टाइन त प्रदेश सरकारले पनि हेर्नुपर्ने हो ।’

‘ध्यानाकर्षण गराउँछौं’
हामीले सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई पनि क्वारेन्टाइनको बारेमा कुराकानी गर्न फोन गर्यौं । उनले फोन त उठाए तर क्वारेन्टाइनको कुरा निकाल्नेबित्तिकै एउटा फोन नम्बर दिएर यहाँ फोन गर्नु भनी फोन कटाए ।

उनले दिएका फोन नम्बर कार्यालयकै सूचना अधिकारी आनन्दकुमार ठाकुरको रहेछ । “हामीलाई पनि त्योबारेमा थाहा भएको छ । हामीले ध्यानाकर्षण गराउने काम गर्नेछौं । त्यहाँको समस्या निकारण र क्वारेन्टाइनको अवस्था सुधार्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं ।”

उक्त विषयमा सम्बन्धित अस्पताल प्रशासनलाई पटक–पटक फोन गर्यौं । तर फोन उठेन ।

अन्त्यमा–अवस्था अझै असामान्य नै छ । हजारौंको संख्यामा कोरोना संक्रमण हुने सम्भावना अझै जीवितै छ । यसर्थ प्रदेश सरकारदेखि सम्बन्धित अस्पतालहरुको सहकार्यमा कमसेकम आइसोलेट हुने संक्रमितहरुको स्वास्थ्यको भने राम्रै हेरविचार गरे राम्रो हुन्थ्यो ।

संघीय सरकारले बन्दाबन्दी (लकडाउन्) खुलेको घोषणा गरेको हप्तादिन कटिसकेको छ । लक्षणसहितका संक्रमित भेटिएका समाचार यत्रतत्र छन् ।

यो अवस्थामा झनै कोरोना पोजेटिभ देखिएकाहरुको हेरचाहमा नजुटेको खण्डमा झनै नेपालको स्थिति असामान्य बन्न जान्छ । सम्बन्धित निकायको ध्यान छिट्टै जाओस् ।

हामीसँग फोन सम्पर्क हुने संक्रमितको पहिचान गोप्य राखेका छौं– सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *