भक्तपुर नगरपालिकामा १७८ सम्पदा पुनर्निर्माण

काठमाडौं । राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन कार्यक्रममा २०७२ सालको भूकम्पले भक्तपुरका सम्पदामा ठूलो क्षति पु¥याए पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै आएको बताए । उनले भक्तपुर नगरपालिकामा हालसम्म १७८ सम्पदाको मौलिकता कायम राख्दै पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिए ।
राष्ट्रिय कला सङ्ग्रहालय ऐतिहासिक सङ्ग्रहालयको रूपमा रहेको र यसको अवलोकन गर्न स्वदेशी तथा विदेशीका आगमन तथा आकर्षण उत्तिकै बढिरहेको उल्लेख गर्दै नगरप्रमुख प्रजापतिले यसको संरक्षणका लागि नगरपालिका लागिरहको बताए । सम्पदा संरक्षणको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र संस्कृतिसँग परिचित गराउनुका साथै विदेशी पर्यटकलाई जानकारी गराएको उनले बताए ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउँदै ५५ झ्याले दरबारको पुनर्निर्माणका क्रममा भित्तेचित्रलाई सुरक्षित राख्दै पुनःस्थापना गरिएको जानकारी दिए । नगरप्रमुख प्रजापतिले भक्तपुरलाई सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरका रूपमा संरक्षण गर्ने लक्ष्यअनुसार नगरभित्र रहेका सबै संरचनालाई मौलिक शैलीमै पुनर्निर्माण गर्ने नीति अवलम्बन गरिएको बताए । यस क्रममा ९९ चोक संरक्षण र पुनर्जीवित गर्ने कार्य थालिएको उनले बताए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले यहाँको सम्पदा र वास्तुकला मानव सभ्यताको उत्कृष्ट नमुना भएको बताउँदै यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुर आफैँमा ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत नगर भएकाले यहाँको मौलिक संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताए ।
कार्यक्रममा राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सङ्ग्रहालय स्थापना भएको इतिहासबारे जानकारी दिँदै पुरातात्त्विक महत्वका सामग्री सङ्कलन, संरक्षण र प्रदर्शनलाई निरन्तरता दिइएको बताइन् । उनले सङ्ग्रहालयमा चित्रकला, धातुकला, काष्ठकला, प्रस्तरकलालगायत करिब दुई हजार १०० पुरातात्विक वस्तु सङ्ग्रहमा रहेको बताइन् ।
राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसको अवसरमा सङ्ग्रहालयमा कार्यरत कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =