मोतिबिन्दु कसलाई-‘जनतालाई कि सरकारलाई ?’

काठमाडौं । वीर अस्पतालको १३१ औं वार्षिकोत्सवलाई सम्बोधन गरिरहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भाषणको बीचमा प्वाक्क बोले–‘सरकारले काम गरेको नदेख्ने जनतालाई त मोतिबिन्दु लागेको हुनुपर्छ ।’

त्यसक्रममा उनले भन्दै थिए, ‘हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका स्वदेश र विदेशमा बस्ने नेपालीले पनि देख्न सक्छन् । यो सकारात्मक पक्ष नदेख्नेमा कतै मोतिबिन्दु पो लागेको छ कि ?’

तर नोवेल कोरोना भाइरस (कोभिड १९)फैलिने क्रम नरोकिनु, स्वास्थ्य सामग्री खरिदमासमेत अनियमितता देखिनु तथा सम्बन्धित मान्छेले दिएका विभिन्न खाले अभिव्यक्तिले सरकार आलोचनामुक्त भने हुन सकेको छैन ।

यत्ति मात्रै होइन, पछिल्लो समय त नेपाली सेनाले ल्याएको रि-एजेन्ट कीटले समेत काम नगरेको समाचारहरु पनि यत्रतत्र बाहिरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्यांकलाई नियाल्ने हो भने देशभरमा ९ सय भेन्टिलेटर छन् । आइसीयूमा कोरोनाका बिरामी राख्न सक्ने क्षमता १ हजार ७ सय २ मात्र छ । आइशोलेसन बेडको संख्या ६ हजार ६ सय ७१ छ भने २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टाइन बेडहरु रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी बताउँछन् ।

अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालय तथा भवनहरु भएकाले ती भवनहरुलाई अहिले धमाधम खाली गरिँदैगर्दा यता कोरोना संक्रमणले भने तीव्र रुप लिएको छ ।

विना गृहकार्य जनतालाई गाली
स्वास्थ्यमन्त्री ढकालले सरकारको काम नदेख्ने जनतालाई मोतिबिन्दु लागेको भने पनि विज्ञहरू भने सरकारलाई पूर्ण ज्ञानको अभाव भएको टिप्पणी गर्छन् ।

सरकारले आफ्नै विवेकले अझ राम्रो काम गर्नुपर्ने ठाउँमा उल्टै जनतालाई नै दोषी देखाएको जनसंख्या विज्ञ तथा जानकार डा. रवीन्द्र पाण्डे बताउँछन् ।

‘सरकारले आफैंले प्रभावकारी काम गरेको छैन । मन्त्रीज्यूले जनतालाई उल्टै दोषी पो देखाए ।’ जनसंख्याविद् डा. पाण्डेले मकालु खबरसँगको कुराकानीका क्रममा भने, ‘जब कोरोना संक्रमितहरु बढे । त्यसपछि सरकारले बन्दाबन्दी खोल्यो । सरकार जनताको स्वास्थ्यप्रति अलिकति पनि संवेदनशील छैन । उल्टै स्वास्थ्यमन्त्रीको जनतालाई नै चिढ्याउने अभिव्यक्ति आउँछ ।’

यस्तै उनले स्वास्थ्यमन्त्रीको भनाइलाई खण्डन गर्दै भने, ‘आफैँले नै काम बिगार्ने अनि आफैँ कराउने । यो पारा त ठीक हुँदै होइन । कोरोना परीक्षणको दायरा फराकिलो पारेर नियन्त्रण गर्नु त कता हो कता परीक्षण नै घटाएर कोरोना कम भयो भन्ने सरकारलाई नै अल्पज्ञान र मोतिबिन्दु छ ।’

लकडाउन खुलेपछि संक्रमितहरू नै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने परिस्थिति सिर्जना भएका बेला त्यसलाई व्यवस्थित गर्न नसक्नु र उचित मापदण्ड तथा निर्देशिका बनाएर परीक्षणको दायरा नबढाउनुले सरकारको अल्पज्ञान पुष्टि भएको डा. पाण्डेको विश्लेषण छ ।

जोखिममा समुदाय, खोइ परीक्षण ?
सरकारले केही स्थानमा मात्र कोरोना परीक्षण गरेको छ । उच्च जोखिममा रहेका सडक बालबालिका, मजदूर, तरकारी तथा फलफूल बिक्री गर्ने पसल, किराना पसल, वृद्धाश्रम आदिमा कोरोना परीक्षण गर्नुपर्ने डा. पाण्डेको भनाइ छ ।

सरकारले उपत्यकामा ४५ हजार जनामा कोरोना परीक्षण गर्ने घोषणा गर्यो । तर, त्यो परीक्षणलाई कालिमाटी तरकारी बजार, केही अस्पतालहरू र पहुँचवालाका सपिङ्ग महलमा मात्र सीमित गरियो ।

अर्थात्, सरकारले टाउको दुखेको औषधी पेटमा लगाएको जस्तै गरिदियो । खास परीक्षण गर्नुपर्ने ठाउँमा परीक्षण नगर्दा कोरोना महामारी भयावह हुनसक्ने अवस्था देखिएको डा. पाण्डेको भनाइ छ ।

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित पनि सरकारले परीक्षण घटाएर संक्रमण घटेको देखाउन खोजेको टिप्पणी गर्छन् ।  ‘परीक्षण जत्ति गर्नुपर्ने हो त्यक्ति भएको छैन । अझै दायरालाई बढाउनु पर्नेमा ठाउँमा घटाउनु राम्रो संकेत होइन ।’ उनले भनेका छन्, ‘परीक्षण सीमित गर्दै गर्दा कोरोनालाई फैलिन झनै मद्दत पुगिरहेको छ ।’

कतिपय सम्बन्धित विज्ञहरुले पनि सरकारले जत्ति परीक्षण गर्नुपर्ने थियो, त्यत्ति नगरेको तर्क गर्दै आएका छन् ।

स्वास्थ्यमन्त्रीका बोली र बानी 
त्यसो त सत्तारुढ दल नै यतिबेला आन्तरिक किचलोमा रुमलिएको छ । पार्टीको आन्तरिक विवादले सरकार सञ्चालनमा प्रत्यक्ष असर परे पनि त्यसबाट निस्कन नेकपालाई सकस परिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान जनतालाई कसरी कोरोनाबाट सुरक्षित गराउने भन्दा पनि कसरी हुन्छ सत्ता जोगाउनेमा ध्यान केन्द्रीत भएको छ ।

सोहि अनुरुप मन्त्रिपरिषद्का मन्त्री खासगरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यकता अनुरुप काम गर्न सकिरहेका छैनन् ।

स्वास्थ्यमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुले उनमा पूर्वसञ्चारमन्त्री गोकूल बाँस्कोटाको झल्को आउने स्वयं मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रायः कोरोना रोकथाम नियन्त्रण र न्यूनीकरणको विषयमा दैनिक बैठकमा मन्त्री ढकालले मन्त्रालयका सचिव, सह–सचिवलगायत विषयगत विज्ञहरुलाई नै अर्ति उपदेश दिँदा समस्या निम्तिएको छ ।

उनी मन्त्रालयमा कसैको कुरा सुन्दैनन् । आफूभन्दा जान्ने बुझ्ने कोही छैन भनेर नजानेको विषयमा पनि बोल्दा मन्त्री आफ्नै कार्यकक्षमा आलोचित भएका छन् ।

यसको एक ज्वलन्त उदाहारण हो, जत्तिबेला कोरोनाले नेपालमा प्रवेश पाउँदै थियो । स्वास्थ्यमन्त्री ढकालले पीपीइ किन आवश्यक पर्यो भनेर भनेका थिए ।

यता नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइरालालाई स्वास्थ्यमन्त्री ढकालले शुरुशुरुमा खुबै सहयोग मागेका थिए । कोरोना नियन्त्रण र रोकथामका लागि डा. कोइरालाले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वास्थ्यमन्त्रीलाई शुरुमा टन्नै सामग्री सहयोग गरे ।

तर, मन्त्री ढकालले डा. कोइरालाको कुरा सुन्ने लागू चाहिँ गरेनन् । त्यहीँ भएर डा. कोइराला बीचमै मन्त्री ढकालसँग टाढिए । अहिले त मन्त्री र काउन्सिलका अध्यक्षबीच नै भेटघाट छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.