बामदेवको ढुलमुल : ‘कहिले केपीतिर, कहिले पीकेतिर’

काठमाडौं । सत्तासिन पार्टी नेपाल कम्युनिष्टका उपाध्यक्ष बामदेव गौतम केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको खह्रो विरोधमा उत्रिए ।

यत्ति मात्रै होइन, उनले राजीनामासमेत माग्न भ्याए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाइदिने बचन के दिएका थिए, गौतमले ‘यूटर्न’ लिए ।

सांसदसम्म नरहेका गौतमलाई प्रधानमन्त्री नै बनाइदिने ओलीको बोलीले गौतम मख्ख मात्रै परेनन्, आफूनिकटका नेताहरुलाई बोलाएर प्रधानमन्त्री भएपछि के के गर्न सकिन्छ भनेर छलफलसमेत गरे ।

यो सन्दर्भ चल्दाचल्दै पुनः गौतमले ओलीले आफूलाई लालचमा मात्रै पारेको बुझेपछि दाहाल–नेपालकै गह्रामा उभिएर ओलीको चर्को विरोध गरे ।

‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने निष्कर्ष’मा दाहाल–नेपाल पुग्दै गर्दा गौतमले उही लयमा बोले । त्यसपछि निकै अप्ठ्यारोमा परेका ओलीकै कित्तामा पुन गौतम उभिएका छन् ।

उनले पार्टी जोगाउने हवाला दिँदै आफ्नो मागको रुपमा ओलीले जे मागेका हुन् त्यो पुर्याउनुपर्ने उल्लेख गरेका छन् ।

आफूलाई सजिलो पार्ने गौतमको मागसँग खुशी भएका प्रधानमन्त्री ओली आफ्नो धर्मपत्नी राधिकालाई लिएर बेलुका खुशीयालीको भोजमा गौतम निवास भैंसेपाटी नै पुगे ।

यसरी सत्तासिन पार्टीको उपाध्यक्षजस्तो गौतमको ढुलमुले पारा अझै चलेकै छ । पार्टीलाई एकताबद्ध र लयबद्ध रुपमा अगाडि लानुपर्ने जिम्मेवारीका गौतमले आफ्नो स्वार्थ हेरिरहेका छन् ।

स्वार्थपूर्तिका लागि कहिले कता कहिले कता गरिरहने गौतमको पारासँग उनीनिकटलाई पत्तो हुन छाडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *