कुटपिट गर्ने सेनालाई सार्वजनिक गर्न माग, तत्काल शव नउठ्ने

चितवन । चितवन राप्तीका राजकुमार चेपाङसहित साथीहरुलाई कुटपिट गर्ने नेपाल आर्मीलाई सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ । राप्ती २ सुर्यमुखी टोलका राजकुमारलाई माछा मार्न गएका बेला नेपाल आर्मीले कुटपिट गरेका थिए ।

साउन १ गते कुटपिटबाट घाईते भएका उनको गत बुधबार मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर मंगलबार राप्ती नगरपालिकामा भएको छलफलमा नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरु, दलका प्रतिनिधिहरु, परिवार तथा आफन्तहरुले दोषीलाई सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

छलफलका क्रममा उनीहरुले राजकुमार सहित उनका साथीहरुलाई कुटपिट गर्ने आर्मीलाई सार्वजनिक गरी कारवाही गर्नुपर्नेमा सबैको एकमत रहेको राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले बताए ।

दोषीलाई सार्वजनिक नगरेसम्म राजकुमारको शव अन्तिम संस्कारका लागि उठाउन नहुनेमा समेत सबैको एउटै आवाज रहेको उपमेयर लामाले बताए । चितवनमा पोस्टमार्टम सम्भव नभएपछि राजकुमारको शवलाई काठमाडौं लगेर पोस्टमार्टम गरिएको छ । रिपोर्ट भने आएको छैन । उनको शव टिचिङ अस्पतालको शव गृहमा छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङसहित सहभागीत छलफलमा दोषीलाई सार्वजनिक गर्नु पर्ने, पीडित परिवारलाई उचित क्षतीपूर्ती दिनु पर्ने माग गरिएको थियो ।

राप्ती नगरपालिका मेयर प्रभा बरालले माछा मार्न गएकै कारण आफ्ना नगरवासीहरुलाई कुटपिट गर्ने छुट कसैलाई नरहेको बताइन् । मेयर बरालले भनिन्– ‘ज्याजती कसैलाई गर्ने छुट छैन । दोषीलाई तुरुन्त सार्वजनिक गरि कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले कुटपिटमा सलग्नलाई सार्वजनिक गर्ने विषयमा सहयोग गर्ने बताए । छलफलमा वडाध्यक्षहरु श्यामसुन्दर उप्रेती, अर्जुन प्रजा, कार्यपालिका सदस्यहरु, लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्वो,नेपाल चेपाङ संघका केन्द्रिय उपाध्यक्ष सुनिमाया चेपाङ, दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =