लगानी बोर्डको सीईओका लागि सर्टलिष्टिङमा परेका पाँच जना, कसको पहुच कोसँग?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाँच जनाको नाम सर्टलिष्टिङ भएको छ । सीईओका लागि १२ जना प्रस्तावकहरु मध्येबाट पाँच जनालाई अर्थमन्त्री संयोजक रहेको छनोट समितिले सर्टलिष्टिङ गर्दै आफ्नो कार्ययोजना प्रस्तुत गर्न भनेको छ ।

सर्टलिष्टिङमा परेकाहरुले आफ्नो तर्फबाट गर्नु पर्ने सबै काम गरिरहेका छन् । सबैले यो बेला लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् ।

सर्टलिष्टिङमा पर्नेहरुमा रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, दीपकराज जोशी, सुशील ज्ञवाली र सुशील भट्ट छन् । सर्टलिष्टिङमा पर्ने मध्येका कोइराला प्रत्यक्ष वैदेशक लगानीमा विद्याविरिधि गर्ने नेपालकै एक मात्रै व्यक्ति हुन ।

कोइरालाले यो भन्दा अघिल्लो कार्याकालका लागि पनि सीईओमा आवेदन दिएका थिए । सीईओ नियुक्तिका लागि सर्टलिष्टिङमा भएका तीन जनाको नाममा कोइराला नम्बरको आधारमा पहिलो भए पनि मन्त्रिपरिषद्ले महाप्रसाद अधिकारीलाई सीईओ नियुक्ति गरेको थियो ।

प्रदेश नं. १ को लगानी प्राधिकरणको सीईओ रहेका कोइरालालाई यस पटक लगानी बोर्डको संभावित सीईओका रुपमा हेरिएको छ । सर्टलिष्टिङमा पर्ने मध्येका दीपकराज जोशी पनि एक हुन । जोशी नेपाल पर्यटन बोर्डका पूर्वसीईओ पनि हुन । भने खतिवडा यसअघि बोर्डमा परामर्शदाताको रुपमा काम गरेर छोडेका व्यक्ति हुन् । वैचारिक हिसावले उनी काँग्रेस निकट हुन् । उनी काँग्रेस निकट भए पनि अर्थमन्त्री र गभर्नर समर्थन पाएका छन् ।

ज्ञवाली सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलसँग निकट व्यक्ति हुन । उनी अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओसमेत हुन । भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका छन् ।

सीईओ छनोटका लागि अर्थमन्त्री खतिवडाको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज पराजुली र डा. गोविन्द नेपाल संयोजक रहेको समिति बनाइएको छ । महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि लगानी बोर्डको सीईओ खाली भएको हो ।

कसको पहुँच कुन नेतासँग ?

डा. सरोज कोइरालालाई बोर्डको सीइओ बनाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ आफैं लागेका छन् । उनी सत्तारुढ नेकपाभित्र केपी ओली समूहका व्यक्ति हुन् ।

रामकृष्ण खतिवडालाई भने अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर महाप्रसाद अधिकारीको समर्थन रहेको बुझिएको छ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि खतिवडालाई सीईओ बनाउनुपर्ने लाइनमा खुलेर लागेका छन् ।

दीपकराज जोशीलाई कसको समर्थन छ भन्ने प्रष्ट छैन । प्रधानमन्त्रीको सचिवालयबाट राम्राे समर्थन भएको व्यक्तिको रुपमा जोशीलाई लिइन्छ । पर्यटन बोर्डको सीईओ बन्दा नेकपा र काँग्रेस दुबै दलको सरकारसँग उत्तिकै निकट भएर काम गरेका थिए । तर, उनीमाथि पर्यटन बाेर्डमा रहँदा कराेडाैं भ्रष्टाचार गरेकाे आराेप छ ।

सुशील ज्ञवालीलाई भने नेकपाका महासचिव बिष्णु पौडेलको राम्रो साथ छ । पौडेलकै आश्वासनमा ज्ञवालीले लगानी बोर्डको सीईओको लागि आवेदन दिएको जानकारहरु बताउँछन् ।

अर्का दाबेदार सुशील भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहालका निकट हुन । प्रचण्डका विश्वासपात्र रुपमा रहेका भट्टले बोर्डको सीईओ बन्ने दाबेदारी प्रस्तुत गरेका हुन ।

सीईओ छनोटका लागि अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र डा. गोविन्द नेपाल सदस्य रहेको समिति छ । यो समितिले सर्टलिष्टमा परेका ५ जनाबाट प्रस्तुति लिएपछि ३ जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ । समितिले ३ जनाको नाम दिएपछि मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको सीईओमा नियुक्ति गर्नेछ ।महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि लगानी बोर्डको सीईओ पद खाली छ ।

प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्डलाई ६ अर्ब रुपैयाँभन्दा बढी लगानीका परियोजनाको अनुमति दिने अधिकार छ । बोर्डलाई २ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको अनुमति तथा लगानीसम्बन्धी काम गर्ने अधिकार पनि दिइएको छ ।

ठूला पूर्वाधार आयोजनाहरूका विषयमा लगानी जुटाउने, अनुमति दिने तथा अनुगमन गर्ने अधिकार पनि बोर्डलाई नै हुन्छ । ठूला परियोजनामा छिटो लगानी भित्र्याउन भन्दै ०६८ सालमा बोर्ड गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *