पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड-१९ का कारणले प्रभावित बनेको छ ।

१० जुलाई २०२१ को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ ।

बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

विगतमा ५ सय हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २ सय ४४ तथा नेपाली १ सय मजदुरले मात्र काम गरिरहेका छन् ।

आयोजनामा आउनुपर्ने २ सय चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए ।

‘आयोजना ६ महिना अघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो । उनले भने, ‘कोभिडले ६ महिना असर गरिसक्यो, अझ १/२ महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ ।’

आयोजना सम्पन्न हुने मिति १ वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले २ सिफ्टमा काम गर्ने योजना बनाइएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।

आयोजना प्रमुख मुनंकर्मीले भने, ‘विशेषगरी इक्युपमेन्ट इन्सटलेसन र भवनको फिनिसिङको काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदारसमेत भदौ १ पछि आउनेछन्, कोभिड-१९ नभएको भए अहिले ७२ देखि ७५ प्रतिशत लक्ष्य पूरा गर्ने थियौँ ।’

कोरोनाका कारण घर गएका नेपाली कामदार बन्दाबन्दी अन्त्यसँगै पुनः काममा फर्किन चाहेका जनाइएको छ ।

निर्माण कम्पनी सिसीएमसीले पिसीआर परीक्षण नगरीकन आयोजनास्थलमा प्रवेश नदिने जनाएकाले प्रदेश तथा स्थानीय सरकारसँग परीक्षण व्यवस्था मिलाउन आग्रह गरिएको आयोजनाले जनाएको छ ।

करिब ६२ प्रतिशत काम सम्पन्न
चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । २२ अर्ब लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ ।

आयोजनाको ‘ल्याण्डसाइड’तर्फ २ हजार ५ सय मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग, सिँचाइ नाला, पानी बाहिर पठाउने तथा कल्भर्डको काम सकिएको छ ।

त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

भवनमा उपकरण जडान गर्ने काम तत्कालै सुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ ।

जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ । ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री २ महिनापछि मात्र आयोजनास्थलमा आइपुग्ने छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *