‘वीपीको तस्विर हटाइएको हैन, सरसफाईका लागि निकालिएको हो’ वीपी प्रतिष्ठान

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको तस्विर नहटाएको बताइएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आए जस्तो प्रतिष्ठान बाट वीपी कोइरालाको कुनैपनि तस्विर नहटाएका प्रष्ट पारेका हुन् ।
उनले राष्ट्रपति तथा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर राख्ने क्रममा वीपी कोइरालाको तस्विर सरसफाईका लागि केही समय निकालिएको बताएका छन् ।
‘सरसफाई गर्ने कार्य प्रयोजनको लागि निकालिएको थियो र पुनः उचित स्थानमा सोहि तस्विर राखिएको छ ।’ प्रवक्ता डा. सापकोटाले बताए ।
याे पनि हेर्नुहाेस
वीपी प्रतिष्ठानका उपकुलपतिले वीपीकै तस्विर फालेपछि कांग्रेसको आपत्ति
उपकुलपतिको कार्यकक्षमा रहेको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तस्विर गत हप्ता नै हटाएर सोको ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर राखिएको समाचार प्रकाशित भएको थियो ।
सोहि विषयलाई लिएर कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले आपत्ति जनाउँदै तत्कालै वीपी कोइरालाको तस्विर यथास्थानमा राख्न र उपकुलपतिलाई माफी माग्न समेत माग गरेका थिए । यता नेपाल तरुण दलले समेत उक्त घटनामा विज्ञप्ति नै जारी गर्दै घोर भत्र्सना गरेको थियो ।









