वीपी प्रतिष्ठानका उपकुलपतिले वीपीकै तस्विर फालेपछि कांग्रेसको आपत्ति

धरान । नेपालीमा एउटा उखान छ “नयाँ जोगीको….मा जटा” । गएकाे आम निर्वाचन अगाडी मात्र तामझामसहित नेकपामा प्रवेश गरेर स्वास्थ्यमन्त्रि भानुभक्त ढकालको चुनाव क्षेत्रमा कांग्रेस विरुद्द उग्र भाषण गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ महीना अगाडी नियुक्त भएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोही उखान चरितार्थ गरेका छन् ।

स्वर्गिय विश्वेश्वर प्रसाद काेइरालाकाे नाममा स्थापना भएकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. गिरीले महामानव वीपी काेइरालाकै तस्विर निकालेर आफुलाई ठूलो क्रान्तिकारी बनाएका छन् । आफुलाई सच्चा कम्युनिस्ट देखाउने लालसामा उपकुलपतिले जसको नाममा प्रतिष्ठान बन्यो उसकै तस्विर हटाएर वीपी काेइरालाकाे अनादर गरेकाे कांग्रेसीहरूकाे मात्र हैन स्वयं प्रतिष्ठानमा रहेका शिक्षक, कर्मचारीहरूकाे बुझाइ छ ।

यसअघि जतिपनि उपकुलपतिहरु आए कसैले पनि स्वर्गिय बीपी कोइरालाको तस्विर निकाल्ने आँट गरेका थिएनन् । तर, डा. गिरीले भने बीपीको तस्विर हटाउन लगाएर त्यसको ठाउँमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै तस्विर राख्न लगाए ।

नेपाल-भारत सम्बन्धको प्रतिक स्वरूप तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरसँगको उनका नेपाली समकक्षी स्वर्गिय गिरिजा प्रसाद कोइरालाको सम्बन्धको प्रतिफल स्वरूप स्वयम् चन्द्रशेखरले समेत आदर्श नेता मान्ने बीपी कोइरालाको सम्झनामा उक्त प्रतिष्ठानको स्थापना भएको थियो । बीपीकै सम्झनामा स्थापित प्रतिष्ठानको उपकुलपति कार्यालय भित्र स्थापनाकाल देखि नै बीपी कोइरालाको तस्विर राखिएको थियो ।

डा. गिरी अगाडी नियुक्त भएका जुनसुकै राजनैतिक आस्था राख्ने उपकुलपतिले पनि उक्त तस्विरलाई सम्मानपूर्वक यथावत राखेका थिए तर, डा. गिरीले उक्त तस्विर हटाएर नयाँ विवाद खडा गरेका छन् । नेपाली कांग्रेसले यस कार्यको भर्त्सना गर्दै उपकुलपतिले क्षमा याचना गर्नुपर्ने पनि बताएको छ ।

उपकुलपतिले माफि माग्नु पर्याेः कांग्रेस सचेतक केदार कार्की

कांग्रेस नेता केदार कार्कीले बीपी कोइरालाको नाममा स्थापना भएको प्रतिष्ठानबाट महामानव बीपीकै तस्वीर हटाउनु बीपीको बिचार मान्नेहरु र देशकै निमित्त शर्मनाक कार्य भएकाे बताए । “उपकुलपति डा. गिरीले आफ्नो चारित्रिक दरिद्रता देखाए, उनले सार्वजनिक माफी मागेर उक्त फोटो यथास्थानमा राख्नुपर्दछ ।” उनले भने ।

प्रदेश नं. १ कांग्रेस प्रमुख सचेतक समेत रहेका कार्कीले यदी डा. गिरीले आफुलाई कम्युनिस्टको पथ प्रदर्शक बनाउन बीपी कोइरालाको अपमान गरेको हो भने आगामी दिनमा जे पनि दुर्घटना हुन सक्छ भन्दै आक्रोस पोखेका छन् । उनले फेसवुकमै डा. गिरीले माफि मागेर वीपीकाे तस्वीर राख्नुपर्ने माग गरेका छन् ।

“नायक” बन्ने चक्करमा “खलनायक” बन्दै उपकुलपति

नेपाल कम्युनिष्ट पार्टीको ओली गुटका सिमित नेताहरु विशेषगरि स्वास्थ्यमन्त्रि भानुभक्त ढकालले चुनावी गुण तिर्न उपकुलपति बनाइएका डा. गिरीले सायद नियुक्ति पूर्व धेरै प्रकारका प्रतिबद्दताहरु गरेको तर ती पुरा हुने संकेतहरु नदेखेको सन्दर्भले होला नेकपा नेताहरुलाई खुसी पार्न उट्पट्याङ कार्यहरु गर्न थालेको स्थानीय नेकपा नेताहरुले बताउन थालेका छन् ।

विगत तीन महिनामा उपकुलपति डा. गिरीले १०० शैयाको कोरोना अस्पताल बनाएको दावी गरे तर तत्कालिन उपकुलपति डा. बीपी दासको कार्यकालमा वर्तमान शिक्षाध्यक्ष डा. गुरू खनालको पहलमा बनेको रिह्याबिलिटेसन् भवनमा उनले राखेको १०० शैयाको सो अस्पताल अझै व्यवस्थित हुन सकिरहेकाे छैन ।

डा. गिरीले उपकुलपति भएर प्रतिष्ठानमा हाजिर गर्दागर्दै शिक्षक कर्मचारीको गत आर्थिक वर्ष देखिकै तलवभत्ता बढाउने निर्णय गरे । शिक्षक, कर्मचारी तथा चिकित्सकहरूले नवनियुक्त उपकुलपतिकाे क्षमता र हैसियत बलियाे देखेर हाेला रातारात स्वागत गरे, विज्ञप्ति निकाले तर, आजका मितिसम्म सबै कर्मचारीकाे खातामा गतवर्ष देखिकाे बढेकाे तलब गएकाे गएको छैन । प्रतिष्ठानकाे आम्दानी दिन प्रतिदिन खस्कँदै गएको अवस्थामा उनले बढेको तलब कसरी खुवाउलान् चिन्ताको विषय हो ।

असार १५ भित्र सबैका खातामा २० प्रतिशत बढेकाे तलब जाने सर्कुलर जारी गरेका उपकुलपतिकाे करनी र कथनीमा फरक पाएपछि शिक्षक कर्मचारीहरू अहिले प्रतिष्ठानमा “जुनै जाेगी आएपनि कानै चिरेको” भन्दै कानेखुसी गर्न थालेका छन् ।

हिन्दी फिल्म “नायक” मा अनिल कपुरले जस्ताे “धुमधडाक” ठूल्ठूला निर्णय गरेर प्रतिष्ठानलाई एशियाकै उत्कृष्ठ शिक्षण संस्था बनाउने भनेका उपकुलपतिले एकल निर्णयबाट मातृशिशु भवनको म्याद थप गरेर रातारात ठेकेदारलाई २१ करोड भुक्तानी गरेपनि कार्यकारीणी समितिले अस्विकृत गर्यो । यसरी एकपछि अर्काे निर्णय धरासायी भएपछि स्वास्थ्यमन्त्रिका प्रिय पात्र, निजी स्वास्थ्य संस्था चलाएका तथा लगभग ४० वर्षदेखि चिकित्सा क्षेत्रकाे उन्नयन र विकासमा खर्चिएका डा. गिरीकाे कार्य क्षमता माथि नै प्रश्न उठेकाे छ । प्रतिष्ठानमा हाजिरी गरेकाे सय दिन पुग्दानपुग्दै उपकुलपतिले प्रतिष्ठानमा विकास भन्दा विनाश बढि गर्न खाेजेकाे छनक पाएपछि कार्यकारिणी सदस्यहरू नै रूष्ट भएका छन् ।

अन्तरपार्टी विवाद बल्झाउँदै उपकुलपतिका सल्लाहकार

डा. गिरी प्रतिष्ठानमा उपकुलपति नियुक्ति भएपछि नीजले अत्यन्तै उद्दण्ड सल्लाहकार नियुक्त गरि प्रतिष्ठानको विकास र विस्तारमा केन्द्रित हुनुभन्दा पनि प्रतिष्ठानभित्र र बाहिर अन्तरपार्टी चलखेलहरु बढाएर अनावश्यक रूपमा विवाद सिर्जना गर्न थालेको पूर्व माओवादी नेताहरूकाे बुझाइ छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका कठ्ठर समर्थक हुन् । र, उनैले ओलीकै भजन किर्तन गाउन बुटवलका दिलिप भट्टराईलाई सल्लाहकार बनाएका छन् ।

सार्वजनिक पद धारण गरेपछि राजनैतिक आस्था लागू गर्न नहुनेमा डा. गिरीका सल्लाहकार दिलिप भट्टराईको काम नै नेकपाभित्रको पूर्व माओवादी खेमालाई जलिल र अपमानित गर्ने रहेको छ । “उनकाे अनावश्यक टिका टिप्पणीहरू हेर्दा उनले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाट गर्ने गराउने खेल खेल्दैछन् । एउटा पवित्र संस्थामा रहेर राजनीतिक गतिविधि बढाउनु ठिक हैन । पार्टी यस विषयमा जानकार छ ।” नेकपाका एक नेता भन्छन् ।


उपकुलपति डा. गिरीका सल्लाहकार भट्टराईले पूर्व माओवादीहरुलाई दूधको झिंगा, आतंकवादी र लुटेरासमेतको आरोप लगाएर सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *