सेनाको कुटाइबाट मृत्यु भएका चेपाङको पोस्टमार्टम काठमाडौंमा हुने

चितवन । सेनाको कुटाईका कारण मृत्यु भएको भनिएका चितवन राप्तीका चेपाङ युवकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवार सहमत भएका हुन् ।
साउन १ गते निकुञ्ज भित्रको खोलामा माछा मार्न गएको बेलामा सेनाको कुटाइबाट राप्ती नगरपालिका–२ गड्यौलीका राजकुमार चेपाङसहित ५ जना घाइते भएका थिए । राजकुमारको सात दिन पछि भरतपुर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि मात्र परिवारजन र अन्य घाइतेहरुले सेनाबाट कुटाई खाएको सार्वजनिक गरेका थिए ।
आइतबार भएको वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको रोजगारी दिने सहमति भएको घटनाका घाइते सन्तलाल प्रजाले बताए ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्य थापाले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको बताए ।
“यो घटनाको विषयमा पत्ता लगाउने एक्सपर्ट चितवनमा नरहेको भन्ने कुरा अयो । त्यसैले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरिँदैछ”, उनले भने । मृतकका परिवार, प्रशासन, निकुञ्जबीचको सहमतिबारे जानकारी नभएको उनले बताए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।








