महिला हिंसाका दोषीलाई कारवाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी (भिडियाेसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने बताएकाे छ । घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरिए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने संघले चेतावनी समेत दिएकाे छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालाकाे सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको, हिट एण्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरिएको र युवतीमाथित एसिड आक्रमण लगायतका घटनाको विरोध गर्दै ती घटनाका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग गरेको समेत गरेकाे छ ।
कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै घट्नामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा हुँदा समेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो पोखिन् । उनले भनिन्, ‘आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन् । देशमा कानूनी राज्यको उपहास भएको छ ।’
बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरुको मनोवल बढेको उनको भनाइ छ । वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले यतिवेला आम जनता सचेत हुनुपर्ने अवस्था समेत आएको पनि उनले बताइन् । खतिवडाले हालै ओखलढुंगा स्थायी घर भई काठमाडौंमा बस्ने २२ वर्षीया पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण भएको घट्नाको पनि कडा निन्दा गर्दै एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन् ।
आफूले विगतदेखि नै महिलामाथि हुने जघन्य अपराध र हिंसाका घट्नामा संलग्नहरूलाई कानुन संशोधन गरेर भएपनि कडाभन्दा कडा कारबाही गरिनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउँदै खतिवडाले भनिन्, ‘अन्तर्राष्ट्रिय कानून संशोधन गरेर भएपनि बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराध गर्ने, जिउँदै जलाउने लगायतका घट्नामा संलग्न दोषीहरुलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदापनि महिलामाथि हिंसाका घट्ना नरोकिएको दुःख व्यक्त गरिन् । उनले आफूहरु सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नुपर्ने पनि बताइन् । एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरुलाई कानूनी कठघरामा उभ्याइनुपर्ने उनको माग छ ।
भिडियाेः








