वीरगञ्जमा १७ वर्षिय युवतीको कोरोनाबाटै मृत्यु भएकाे पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको पछी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको हो ।

बारा परवानीपुर गाउँपालिका–४ घर भएकी मृतक १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा. मदन उपाध्यायले प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको बताएका छन् ।

प्रयोगशालामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीसहित नौ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारार्थ लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटीमा एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको थियो । उनको अक्सिजन मेन्टेन भइरहेको थिएन । अक्सिजन ७५ प्रतिशत मात्र देखाइरहेको थियो । उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको बताइएको छ ।

इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *