गाईमा देखियाे नयाँ रोगको संक्रमण, गोठ सफा राख्न सुझाव

चितवन । चितवनमा किसानले पालेका गाईमा नयाँ रोगको संक्रमण देखिएको छ । अफ्रिकन रोग भनेर चिनिने लम्पी स्क्रिन डिजिज भाईरस जिल्लाको राप्ती नगरपालिकामा देखा परेको हो ।
१६ दिन अघि राप्ती ८ का किसान रामजी अर्यालको गाईबाट यो रोग देखा परेको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले जानकारी दिए । अर्यालको गाईमा सुरुमा देखिएपनि अहिले राप्ती नगर भरिनै रोग फैलिएको भण्डारीले बताए ।
संक्रमण देखिएका गाईहरुको छाला तथा कल्चौडामा डावर आउने,खानेकुरा नखाने,नाकबाट सिंगान आउने,उच्च ज्वरो आउने समस्या देखिएको प्रमुख भण्डारीले जानकारी दिए । वर्खा लागेको बेला यो रोग देखिने भएपनि नेपालमा पहिलो पटक यस्तो समस्या देखिएको उनकाे भनाइ छ । ‘गाईमा यस्तो समस्या नेपालमा पहिलो हो । अफ्रिकन मुलुकमा देखिएपनि नेपालमा भित्रिएको थिएन,’ पशु सेवा शाखा प्रमुख भण्डारीले भने ।
राप्तीमा एउटा गोठमा ५० प्रतिशत गाईमा यो भाईरसको संक्रमण देखिएको छ । यो भाईरसको उपचार नहुने भएकाले गोठ सफा सुग्गर राख्नुपर्ने पशु चिकित्कस भण्डारीको सुझाव छ । भाईरसका कारण संक्रमण देखिएका गाईहरुलाई छुट्टै राख्न समेत उनको आग्रह छ ।
संक्रमण फैलिने क्रममा रहेपछि राप्ती पशु सेवा शाखाले नमुना संकलन गरेर काठमाडौं परिक्षणका लागि पठाउँदै छ । नगरका विभिन्न स्थानबाट ३५ वटा नमुना संकलन गरिएको छ । रगतको १७, सिंगानको १५ र पिपको ३ वटा नमुना संकलन गरेर केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउन लागिएको भण्डारीले बताए ।
यो रोगका कारण अहिलेसम्म गाईको मृत्यु नभएपनि संक्रमण व्यापक बन्दै गएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले यस्तो प्रकारको रोग जिल्लाको रत्ननगरमा समेत देखिएको बताए । गोठमा फोहोर हुन नदिने र धुवाँ लगाएर लामखुट्टे र भुसुना भगाउन वगालेले किसानहरुलाई आग्रह गरेका छन् ।








