वृक्षारोपण गरेर मन्त्री लामाले मनाए जन्मदिन

चितवन । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् । राप्ती नगरपालिका ४ स्थित शिखर हरियाली सामुदायिक वनमा उत्पादनमुखि फलफुलका विरुवा रोपेर मन्त्री लामाले शुक्रबार परेको ६१ औँ जन्मोत्सव मनाएका हुन् ।
उनले नयाँ प्रजातिको एकेडेमिक नट नामक विरुवा रोपेका थिए । वृक्षारोपणपछि कृषि मन्त्री लामाले सामुदायिक वनमा उत्पादनमुखी विरुवा रोपेर आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड दिए । ‘कतिपय वन खेर गईरहेका छन् । त्यस्ता क्षेत्रमा फलफुलका विरुवा लगाउन सके आम्दानीको श्रोत बनाउँदै वन संरक्षण समेत हुन्छ’, मन्त्री लामाले भने ।
कृषि मन्त्री लामाले वन क्षेत्रमा निर्माण भईरहेको इको टुरिजम पार्क र यस आसपासमा नयाँ फलफुलका विरुवा लगाएर यहाँ आउने आगुन्तकलाई फलफुलबाट स्वागत गर्न सके अन्यत्र सन्देश राम्रो जाने औंल्याए ।

बाहिरबाट अर्बाैंकाे फलफुल नेपाल भित्रने गरेको भन्दै मन्त्री लामाले आफ्नै ठाउँमा फलफुलका विरुवा लगाउनुपर्नेमा जोड दिए । वृक्षारोपणका लागि मन्त्री आफैँले फलफुलका विरुवा ल्याएका थिए । जन्मदिनको शुभकामना व्यक्त गर्दै राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले समृद्ध नगर, समृद्ध मुलुक निर्माण उत्पादनमुखि कृषि क्षेत्रमा लाग्नुपर्ने बताए ।
कृषि क्षेत्रको विकासमा मन्त्री लामाले किसान मैत्री कार्यक्रम र बजेट विनियोजन गरेकोमा उपमेयर लामाले धन्यवाद पनि दिए । वृक्षारोपण गरिएको क्षेत्रमा बागमती प्रदेश सरकारको झण्डैं साढे ५ करोडको लगानीमा इको टुरिजम पार्क निर्माणको काम भईरहेको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवन, मकवानपुरका प्रमुख राजन ढकाल, राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती नगरपालिका कार्यपालिका सदस्य श्यामलाल विक, उद्योग बाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कडेँल, राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका अध्यक्ष डिल्ली प्रसाद थपलिया, नेकपाका नेता गोविन्द कडेंल, युवा नेता स्वरुप सुयाँल लगायतको उपस्थिति रहेको थियो ।








