यस्ताे महंगीमा ४५ रुपैंयामा १ क्विन्टल सोना मन्सुली चामल ! कसरी ?

काठमाडौं । शिर्षक पढेर अचम्म मान्नु होला ४५ रुपैंयामै कसरी १ क्विन्टल चामल पाइन्छ ? बजारमा सामान्य मोटा चामलकै किलोको ४०–५० रुपैंया पर्छ । मन्सुली चामलको कुरा गर्दा ७० रुपैंया किलो पर्छ । तर, यहाँ त ४५ रुपैंयामै १ सय केसी चामलको कुरा छ ।

४५ रुपैंयामा १ क्विन्टल चामल दिने भनेर एक जना व्यापारीले खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा टेण्डर हालेपछि सरकारी निकायमा हल्लीखल्ली मच्चिएको छ । भने, ती व्यापारीलाई बल्लबल्ल परेको टेण्डर ‘खाउँ भने के…’ भने जस्तै भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन लिमिटेडले प्रकाशित गरेकाे सूचना

खाद्य संस्थानले गत असार ९ गते काठमाडौं सहित तराईका ६ जिल्लाबाट चामल खरिदको लागि बोलपत्र आह्वान गर्दा सुनसरी दुहवीका एक व्यापारीले प्रति क्विन्टल ४५ रुपैंयामै संस्थानलाई चामल उपलब्ध गराउने कोटेसन हाले । उनले प्रति क्विन्टल ४५ रुपैंयाँ ३९ पैसामा ५ हजार क्विन्टल चामल उपलब्ध गराउने भन्दै टेण्डर हालेका छन् ।

संस्थानले चामल खरिदका लागि चैत्र ५ गते, बैशाख १० गते र जेठ १ गते बोलपत्र आह्वान गर्दा कुनैपनि सप्लायर्सले टेण्डर हालेका थिएनन् । चौथो पटक असार ९ गते बोलपत्र खोल्दा सुनसरीका ती व्यापारीले ४५ रुपैंया प्रति क्विन्टलमा सोना मन्सुली चामल उपलब्ध गराउने प्रस्ताव हालेपछि खाद्य संस्थानमा समेत चर्चाको विषय भएको छ ।

व्यापारी काशी प्रसाद अग्रवालले संस्थानको प्रादेशिक कार्यालय विराटनगरमा ४५ रुपैंयाँ ३९ पैसामा एक सय (एक क्विन्टल) किलो चामल उपलव्ध गराउँछु भन्दै कोटेसन हालेका छन् । साथमा उनले टेण्डर हाल्दा साँढे ६ लाख धरौटी पनि बुझाइ सकेका छन् ।

सार्वजनिक खरिद ऐन अनुसार जसले सबैभन्दा कम मूल्यमा टेण्डर हाल्छ ठेक्का उसैले पाउने भएकोले अहिले बजारमा सोना मन्सुलीकै प्रति केजी ७० रुपैंयासम्म पर्नेमा उनले प्रति क्विन्टन ४५ रुपैंयामै चामल उपलब्ध गराउने भनेर टेण्डर हाल्दा उनलाई सरासरी २ करोट २५ लाख घाटा हुने देखिएको छ ।

गिरिधारी फुड इन्डष्ट्रिज दुहवी–४ सुनसरीले हालेको उक्त टेण्डर सबैभन्दा कम रकमको हो । उनी पछि सोही चामललाई श्याम बाबा राइस एण्ड फ्लोर मिलले प्रति क्विन्टल ४,५९५ रुपैंयामा र लक्की राइस मिलले ४,५२१ रुपैंयामा टेण्डर हालेको छ ।
भएको के हो ?

खासमा गिरिधारी फुड इन्डष्ट्रिजका काशी अग्रवालले प्रति केजी ४५ रुपैंयामा सोना मंसुली चामल खाद्यलाई उपलब्ध गराउने भनेर टेण्डर हालेका रहेछन् । तर, फर्ममा प्रति क्विन्टल उल्लेख गरीएको रहेछ । उनले अन्जानमा क्विन्टलको ठाउँमा किलोको मुल्य राखेर टेण्डर भरेकाले करिब २ करोड २५ लाख घाटा पर्ने देखिएको हो ।

अहिले उनी टेक्निकल्ली गल्ती भएको भन्दै खाद्य व्यवस्थापन कम्पनी, उद्योग मन्त्रालयमा हार गुहार गरीरहेका छन् । खाद्यले चामल आपुर्ति गर्ने सम्झौता गर्न आउन सार्वजनिक सुचना नै प्रकाशित गरीसकेको छ ।

खाद्यका खरिद इकाईका प्रमुख डिल्लीराज लम्सालले टेण्डर अनुसार सामान उपलब्ध गराउन नसके धरौटी जफत हुने बताए । ‘टेण्डर परेको छ, सम्झौता गर्न आउन भनिएको छ, सामान उपलब्ध गराउन नसके उसको धरौटी जफत हुन्छ ।’ उनले भने ।

काजगात नपुर्याई टेण्डर स्विकृत
गिरिधारी फुड इन्डष्ट्रिजका सञ्चालक काशी अग्रवालले आफुबाट टेण्डर भर्ने बेलामा गल्ती भएको बताए । उनले खाद्य कम्पनीका खरिद इकाईका प्रमुख डिल्लीराज बस्नेतले टेण्डर खारेज नहुने सम्झौता गर्न नआए धरौटी जफत हुने बताएको जिकिर गरे । उनले आफ्नो फर्मबाट केही डकुमेन्ट समेत नपुग भएको जानकारी गराउँदै टेण्डरबाट आफ्नो नाम हटाउन माग गर्दा पनि कम्पनीले नमानेको दावि गरे ।

‘मिस्टेकले त्यस्तो भयो, मेरो फर्मको २, ३ वटा डकुमेन्ट पनि पुगेको थिएन, खै कसरी उनीहरुले मलाई नै टेण्डर पारिदिए ?’ काशी अग्रवालले भने । गिरिधारी फुड इन्डष्ट्रिजले स्वघोषणा, मञ्जुरीनामा तथा बैंक ग्यारेण्टी समेत नदिएको अवस्थामा खाद्य कम्पनीले टेण्डरमा सहभागी गराएको छ । ‘मेरो स्वघोषणा पत्र, मञ्जुरीनामा र बैंक ग्यारेण्टी समेत ९० दिनको थियो, क्राइट एरिया पुग्दैन, मलाई हटाइदिनुस भन्दा डिल्लीराज लम्सालले मिल्दैन, धरौटी जफत हुन्छ भने ।’ काशी अग्रवालले भने ।

त्यसो त सरकारी निकायमा कम मुल्यमा महंगा सामान आयात गर्ने भनेर टेण्डर हाल्ने प्रचलन नौलो हैन । केही समय अगाडी एक सप्लायर्सले भूमिसुधार मन्त्रालयलाई १ रुपैंयामा सिसाको ग्लास, कोरा कपडा, मार्कर, साबुन, १२ रुपैंयामा पेन ड्राइभ उपलब्ध गराउने टेण्डर हालेका थिए । पछि उनले कम परिमाणमा सामान उपलब्ध गराए । तीन सय रुपैंया भन्दा बढि पर्ने पेन ड्राइभ उनले १२ रुपैयामा मन्त्रालयलाई उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन ।

सरकारी निकायमा व्यापारी र कर्मचारीहरुकै मिलेमतोमा करोडौंको सामान खरिद गर्ने तर परिमाण भने कम दाखिला गर्ने पुरानै चलन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *