[कविता] : राजनीति

राजनीति
अराजकताको पहाड रहेछ
चढ्ने चढिरहन्छन्
झर्ने झरिरहन्छन्
खाने खाईरहन्छ
भोका भोकै रहन्छन्
हाँस्ने हाँसी रहन्छन्
रुने रोईरहन्छन्
रंग फेर्नेहरु फेरिरहन्छन्
छेपारोले रंग फेरे झै ।

मासु तान्ने तानीरहन्छन्
मासु भनेकै सत्ता हो रहेछ
जो कुकुरले लुछेझै लुछिरहन्छन् ।

बिचित्रको राजनीति
मृत आत्माहरुको जथ्था छ तल
जो माथिको ईशरामा नाचिरहेका हुन्छन्
माथिका स्याहरु हुईया गर्दै
नाचिरहन्छन् मृत आत्मा माथि
तर पनि उ गर्व गरिरहन्छ मृत आत्मा हुनुमा
बिचरा के गरोस त
उसलाई पनि त आगो चाहिन्छ
सलाई ,पानी चाहिन्छ नि ।

यहाँ अधम मान्छेहरुले सरकार चलाईरहन्छन्
रात लाई दिन
दिनलाई रात
भनिरहन्छन् ।

म अचम्म पर्छु
के रातलाई दिन भन्न मिल्ला र ?
के दिनलाई रात भन्न मिल्ला र ?

क्रान्तिको टीका लगायर
नक्कली क्रान्ति किन गर्नु ?
छायामा पारेर सर्बहाराको नारा
ओझेलमा पारेर समाजवादको नारा
यहाँ नक्कली पसलहरुका झुन्ड छन्
जहाँ झुट बिक्छ
जहाँ भ्रम बिक्छ
जहाँ खुरापात बिक्छ
जहाँ गरिबको पसिना बिक्छ ।

कहिले काहिँ घोत्लियर सोच्छु
यो राजनीति भन्ने चरा यसरी नै उडान भर्दो होला ?
मैले कहिले आँट गर्न सकिन
राजनीतिक उडान भर्न
यस्तो बिचित्रको राजनीति ।।

  • रुपा रावल स्वाँर -धनगढी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *