नेपालमै पहिलो पटक दृष्टिविहीनका लागि ‘स्वाभिमान बचत खाता’

 

काठमाडौँ । कामना सेवा विकास बैङ्कले दृष्टिविहीनहरूका लागि नेपालमै पहिलो पटक स्वाभिमान बचत खाता सञ्चालनमा ल्याएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ विभिन्न बैङ्किङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैङ्कले दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के–के विषयहरू उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ । यो दृष्टिविहीनहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको डिपोजिट प्रोडक्ट नेपालको बैङ्किङ क्षेत्रकै पहिलो हो । यस खाता शून्य मौज्दातमा खोली उच्चतम प्रतिफल प्राप्त गर्नुका साथै बैङ्कबाट प्रदान गरिने अन्य विशेष सुविधाहरू समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको बैङ्कले जानकारी दिएको छ ।

बैङ्कका सञ्चालक विश्वेश्वर सुवेदीले यस खाताको शुभारम्भ गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले खाताको जानकारी तथा बैङ्कको अवधारणाबारे प्रकाश पारेका थिए । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन सङ्घका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नुपरेका समस्या र चुनौतीहरूका बारेमा प्रकाश पारेका थिए ।

यसै गरी नेपाल नेत्रहिन सङ्घका अध्यक्ष नर बहादुर लिम्बुले आफूहरू दृष्टिविहीन भएको कारण राज्यका निकायहरूबाट पाउने विभिन्न सुविधाहरू उपभोग गर्नबाट वञ्चित भएको गुनासो गर्दै कामना सेवा विकास बैङ्कले इज्जतका साथ बैङ्किङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा सङ्घ तथा आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै अन्य बैङ्क तथा वित्तीय संस्थहरुले समेत यो महत्त्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *