गाउँ जान थालेपछि धमाधम खाली हुँदै काठमाडौंका घर, सस्तियाे कोठा भाडा

काठमाडौं । कोरोना भाइरस (काेभिड १९) संक्रमणकाे बढ्दाे जाेखिमका कारण काठमाडौं उपत्यकाका घरहरू खाली हुन थालेका छन् । कोरोनाको कारणले रोजगारीमा समस्या भएपछि काठमाडौंमा बस्नेहरु आ-आफ्नै घर फर्किन थालेपछि घरभाडा पनि सस्तो हुन थालेको छ ।

कोरोनाको संक्रमण सुरु हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउन कठिन थियो । लकडाउन भएको करिब ४ महिना हुन लाग्दा उपत्यकामा कोठा खाली र सस्ताे हुन थालेको हो । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएकाले कोठा र सटर छाड्न थालेका छन् । लकडाउनको कारणले काठमाडौंमा भोकै हुने हो कि भन्ने डारले गाउँ फर्कनेको संख्या बढेको छ ।

कोठाहरु १/२ महिनासम्म खाली हुन थालेपछि घरधनीहरुले सस्तोमा नै कोठा भाडामा दिन थालेका हुन् । सस्तोमा नै राम्रो कोठा पाइन थालेपछि कोठामा बस्नेहरु छानिछानी सस्तो र राम्रो कोठामा सर्न थालेका छन् ।महंगो भाडाका कारण काठमाडौंमा कोठामा बस्नेहरुले समस्या झेल्दै आएका थिए । अहिले भने केही राहतकाे महशुष गरेका छन् ।

बालाजु बस्ने राम दाहालले १२ हजारमा दुई वटा कोठा लिएर बस्दै अएका थिए । लकडाउन भएको २ महिना पछि १० हजारमा आफु बसेकोभन्दा ठुलो र पानीको राम्रो व्यवस्था भएको कोठा खाली भेटेर कोठा सरेको उनी बताउँछन् ।

‘काठमाडौंमा यती सजिलै र यति सस्तोमा कोठा पाइन्छ भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ, तर कोरोनाको कारणले सजिलै राम्रो र सस्तो कोठा पाइयो, किराना पसल चलाउदै आएको थिएँ, लकडाउनको बेला पनि व्यापार गर्नुपर्ने भएर घर जान सकिएन, म मात्रै हैन, मेरा धेरै साथीहरु पनि राम्रो र सस्तो खोजेर सरेका छन्, रासन किन्न आउने घरधनीहरुले पनि कोठा खाली छ, केही कोठा खोज्न आए भने भनिदिनु है भन्ने गरेका छन्,’ दाहालले मकालु खबरसँग भने ।

मकवानपुरका राम लामा पनि लकडाउन कै समयमा कोठा सरे । उनी १५ हजार तिरेर कीर्तिपुरमा ३ वटा कोठा लिएर बसेका थिए । उनले कालिमाटीमा तरकारी व्यापार गरेको ३ वर्ष भयो । लामाले कालिमाटी तिर कोठा खोजेको पनि २ वर्ष भइसकेको छ थियो । तर उनले लकडाउन भएको ३ महिना पछि सजिलै कुलेश्वरमा १२ हजारमा नै ३ वटा कोठा पाएको बताए ।

‘अहिले त काठमाडौंमा जताततै कोठा खाली भएको छ, जता जाँदा पनि कोठा खाली छ भनेर लेखेर टाँसेको देखिन्छ, वर्षौँदेखि मनलाग्दी भाडा लिएका घरधनीहरु अहिले कोठा खाली भएर चिन्तामा परेका छन्’,लामाले भने ।

उपत्यकाको थानकोट, सतुगंल, कलंकी, कालिमाटी, बल्खु, कीर्तिपुर, नयाँ बस्ती, यातायात, बानेश्वर, कोटेश्वर, चाबहिल, त्रिपुरेश्वर, बालाजु लगायतका ठाउँका घरमा बस्ने कोठा र व्यापार गर्ने सटरहरु खाली हुन थालेका छन् ।

काठमाडौंमा सटर लिएर व्यापार गर्नेहरु पनि आफ्नो सामान लिएर नै गाउँ जान थालेका छन् । बजार खुले पनि व्यापार नभए पछि सरटरको भाडा तिर्न नसक्ने अवस्था भएको कारण सटर नै छोडेर गाउँ फर्किनेहरुको संख्या वृद्धि हुन थालेको छ ।

बल्खुमा कपडा पसल सञ्चालन गर्दै आएकी निरु आर्चाय पनि पसलमा भएको सबै सामान लिएर चितवन आफ्नै घर गइन् । पसलबाट फाईदाभन्दा बढी घाटा हुने देखिएपछि उनी पसल नै छाडेर गाउँ फर्किएकी हुन् ।

भाडामा बस्ने कोठा मात्र होइन पसल गर्ने सटर पनि खाली हुन थालेपछि घर धनीले सस्तोमै उपलब्ध गराउन थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *