बागमती प्रदेशका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

चितवन । बागमती प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता भएको छ । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुबीच बिहीबार कार्य सम्पादन सम्झौता भएको हो । प्रदेश सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको काम थप प्रभावकारी बनाउँदै यस प्रदेशलाई नमुनाको प्रदेश बनाउन मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका हुन् ।
बिहीबारबाट सुरु भएका नयाँ आर्थिक बर्षमा तय गरिएका नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । सम्झौता अनुसार अब सम्बन्धित मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेट कार्यान्वयनसँगै तोकिएको समयभित्र तोकिएका कामहरू तीव्रताका साथ गर्ने गरी कार्य सम्पादन सम्झौता गरिएको उनले बताए ।
सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गर्दै सम्झौता आदान–प्रदान गरेका छन् ।
बागमती प्रदेशले नयाँ सुरुवात गरेको प्रतिक्रिया दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समयमै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न दबाब पुग्ने र काम पनि प्रभावकारी हुने बताए ।








