चौरजहारी घटना : थप चारजना पुर्पक्षका लागि जेल चलान

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी घटनाका थप चार अभियुक्त पुर्पक्षका लागि जेल चलान गर्न आदेश भएको छ । गत जेठ १० गते सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार चार अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो । चौरजहारी नगरपालिका ८ रुकुम पश्चिमका तुलराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्तीलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश भएको हो।

मंगलबार जिल्ला अदालत रुकुम पश्चिममा भएको थुनछेक बहसपछि चार अभियुक्तलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तादार लक्ष्मण विकले बताए। मंगलबार जिल्ला अदालतमा हाजिर भएका चार अभियुक्तलाई बयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

पाँच जना फरारको सूचीमा रहेका मध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफैँ हाजिर भएपछि २८ गतेको बयान र बहसपछि यस अघि नै पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको थियो। यो सँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ। जसमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राख्ने आदेश भएको थियो। ३ जना साधारण तारिख र १ जना एक लाख धरौटीमा छुटेको जिल्ला आदालत रुकुम पश्चिमले जानकारी दिएको छ।

जेठ १० गते प्रेमिकालाई बिहे गरेर लैजान भन्दै नवराज विकसहितका युवामाथि जातीय विभेदकै कारण गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो। जाजरकोटका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, सोही नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका–१ का टीकाराम नेपालीको उक्त घटनामा ज्यान गएको थियो। ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो।

उक्त घटना जातीय विभेदकै कारण भएको संसदीय छानबिन समितीकाे पनि निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *